सम्पादकीय

आरजूलाई सकस



कैलाली ३० कार्तीक । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ । प्रधानमन्त्री पत्नी डा। आरजू राणा देउवा प्रतिनिधिसभामा यो क्षेत्रबाट उठेपछि कस्को विजय होला भनी उत्सुकता बढेको छ ।

कार्यकर्ताबाटै टुरिस्ट उम्मेदवारको आरोप खेपेकी आरजूले ३ करोड लगानी गरेर घरै किनिन्, तापनि उनी अलोचनामुक्त हुन सकिनन् । यही क्षेत्रमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारीले उम्मेदवारी दिएका छन् ।

यही क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेका थिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पत्नी आरजूको बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस सुरु भएको छ । रानाले राना थारू समुदायको मत तान्ने अपेक्षा गरिएको छ ।

राना थारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा राना थारू समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकाको उपप्रमुखमा चुनाव जितेका थिए । उनी २०६४ सालमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । देउवा पत्नी आरजू पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन् । उनी यसअघि कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन् ।

विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका भण्डारी यस क्षेत्रमा व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको पनि राम्रो छवि छ । भण्डारीले कांग्रेस र एमालेको मत तान्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ । हमाल हाल विवेकशील पार्टीका ७ नम्बर प्रदेशका संयोजक रहेका छन् ।

यस क्षेत्रबाट स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप ओडले चुनाव जितेका थिए । २०६४ सालको संविधानसभामा भने माओवादीकी लीला भण्डारीले निर्वाचन जितेकी थिइन् ।

शेरबहादुर देउवा चुनाव लडेयता कांग्रेसका उम्मेदवारले जित हात पारेकाले यस क्षेत्रलाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । स्थानीय तह निर्वाचको मतलाई हेर्दा एमाले–माओवादीले पाएको मत जोड्दा भने कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले पाएको मतभन्दा केही बढी छ ।

नेपाली कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत बढी छ । तत्कालीन क्षेत्र नम्बर ६ निर्वाचन क्षेत्रमा हाल धनगढी उपमहानगरपालिकामा कैलारी गाउँपालिकाका २ वडा थप गरेर क्षेत्र नम्बर ५ बनाइएको छ । यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन् ।

राना थारू समुदायको मत रानाले प्रभावित गर्न सके नतिजा उनको पोल्टामा जान सक्ने स्थानीयको भनाइ छ । कांग्रेसको प्रभाव क्षेत्र, आरजूको व्यक्तित्वलगायत कारण आरजूले चुनाव जित्ने कांग्रेस समर्थकको आँकलन छ । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिएकाले अब मतदाता नयाँ दललाई भोट दिने बताउँछन् ।

७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको यो क्षेत्र राजनीतिक रूपमा महŒव राख्ने क्षेत्र हो । १९ वडा रहेको धनगढी उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १२ वटा वडा कांग्रेस, ५ वटा माओवादी र २ वटा वडामा एमालेले जितेको थियो ।

वाम गठबन्धनको मत करिब पाँच हजार बढी देखिए पनि प्रतिनिधिसभा निर्वाचन भएकाले स्थानीय तहको मतको थोरै अन्तरले ठूलो अर्थ नराख्ने जानकारहरू बताउँछन् ।

यसअघि धनगढी उपमहानगरपालिकाको क्षेत्र रहेको यो निर्वाचन क्षेत्रबाट गत संविधानसभामा कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जितेका हुन् । डडेल्धुरा र कैलाली क्षेत्र नम्बर ६ बाट चुनाव लडेका देउवाले यो क्षेत्र छाडेपछि उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझाले चुनाव जितेका थिए ।

यस्तै यस क्षेत्रमा नयाँ शक्तिबाट नृपबहादुर बोहरा, राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनाका आरोपित लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन् । थारू हाल कैलाली कारागारमा रहेका छन् । यस्तै जनमोर्चाबाट गोरेबहादुर कामीले पनि उम्मेदवारी दर्ता गराएका छन् । राजधानी मा समाचार छ ।