काठमाडौ ११ मंसिर। प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ ।
यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन रु भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो ।
सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्”, भन्नुभयो ।
वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ । “नेपाली काँग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली काँग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”
उहाँले काँग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिस्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिस्टहरुले जनतालाई बुटमुनि राखेर दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले काँग्रेसले २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिस्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई ब्यूँताउन खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिस्ट शासन संसारबाटै खत्तम भइसकेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेत्री सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्