काठमाडौ,१२ । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा कडा पारिएको छ । आज बाँकी रहेका ४० मतदान केन्द्रका मतपेटीका पनि सदरमुकाम ल्याइदैछ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । दलहरुले पनि आयोगले लगाइसकेपनि ढोका छुट्र्टै ताला लगाएका छन् । झ्याल ढोकामा पनि सिलन्दी गरिएको छ ।
गृह मन्त्रालयले आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गृहका अनुसार मतदानका बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा रहनेछन् ।
गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी अवस्थामा रहेको सशस्त्रको टोली पनि मतपत्र सुरक्षामा खटिने जानकारी दिए । गृह स्रोतका अनुसार सोमबार रातिसम्म धेरैजसो स्थानबाट मतपत्र सदरमुकाम ओसारी सकिनेछ । प्रदेश ३ का सबै मतदान केन्द्रबाट मतपत्र जिल्ला सदरमुकाममा ओसारिइसकिएको छ । प्रदेश १ को मतपत्र पनि सोमबार रातभरिमा ओसारी सकिने अनुमान छ ।
प्रदेश १ का एआईजी पशुपति उपाध्यायले संखुवासभाका केही मतदान केन्द्रबाहेक सबै जिल्लाका मतपत्र सोमबार राति अबेरसम्म ओसारी सकिने बताए ।
प्रदेश ७ का एआईजी विजयकुमार भट्टका अनुसार दार्चुलाको उच्च हिमाली भेगमा पर्ने तीन मतदान केन्द्र र बझाङको काडा गाउँपालिकाको मतदान केन्द्रबाट मात्रै मतपत्र ओसार्न बाँकी छ । उनले बझाङको मतपत्र हिँडाएर मंगलबारसम्म सदरमुकाम ल्याइपुर्याइने र दार्चुलाको मतपत्र मंगलबार नै ओसारिने बताए ।
निर्वाचन आयोगका अनुसार सोमबार चार बजेसम्म ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान स्थलमध्ये २ हजार ४ सय १० का मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाम ल्याइसकिएको छ । आयोगका अनुसार ४० मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ भने ४ सय ६७ मतदान स्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ । मंगलबार साँझसम्ममा सबै मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने जानकारी निर्वाचन आयोगले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता दुवाडीका अनुसार सदरमुकाममा रहेका र सुरक्षाका दृष्टिले भरपर्दो सरकारी कार्यालयमा मतपत्र सिलबन्दी गरेर राखिनेछ । मतपत्र कसरी सुरक्षित राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले अवस्था हेरेर निर्णय लिने बताए । जिल्लाका सबै मतपत्र एकै स्थानमा भण्डार गर्ने व्यवस्था मिलाइएको पनि गृहको भनाइ छ । कान्तिपुरबाट
त्यसो गर्दा केन्द्रीकृत सुरक्षा दिन सजिलो हुने मन्त्रालयको ठम्याइ छ । प्रदेश १ का एआईजी उपाध्यायले जिल्लामा सबैभन्दा सुरक्षित मानिने तथा अग्लो पर्खाल भएको सरकारी भवनमा मतपत्र राखिएको बताए । प्रदेश ७ का एआईजी भट्टले पनि सुरक्षाका दृष्टिले बलियो मानिने सरकारी भवनमा मतपत्र भण्डारण गरिएको बताए ।
लमजुङ र पाँचथरमा सबै मतपत्र जिल्ला समन्वय समितिको हलमा राखिएको छ । सबैजसो जिल्लामा दलका प्रतिनिधिको समन्वयमा मतपत्र सुरक्षाको रणनीति बनाइएको छ । गृहका अनुसार केही जिल्लामा भने दलका प्रतिनिधिहरूले सीसीटीभी क्यामेरा पनि राखेका छन् भने केही जिल्लामा दलका प्रतिनिधिले मतपत्र रहेको कोठामा आफ्नै सिलबन्दी गरेका छन् ।नेपाल पाटी
प्रतिक्रिया दिनुहोस्