Banner News

एक सय २८ मध्ये १ सय ५ स्थान जित्छौँः महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौंका सबै क्षेत्रमा वामगठबन्धनले जित्ने दावी गरे ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल काठमाडौंको मिडिया डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता पोखरेलले काठमाडौंका सबै क्षेत्र सुनिश्चित भएको बताए ।

बाम गठबन्धनले काठमाडौंका अधिकांश क्षेत्र सहित दुई तिहाई बहुमत ल्याउने दावी गर्दै पहिलो चरणमा भएको निर्वाचनमा पनि अत्यधिक क्षेत्रमा बवाम गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । दोस्रो चरणमा पनि धेरै क्षेत्र सुनिश्चित भएको उनको भनाई थियो ।

प्रतिनिधि र प्रदेश सभाको चुनाव ऐतिहासिक भएको भन्दै महासचिव पोखरेलले सबै मतदातालाई सजग भएर मतदान गर्न आग्रह गरे । निर्वाचनपछि वामगठबन्धनको सरकार बन्ने र त्यसले पाँच वर्षसम्म देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका पोखरेलले निर्वाचनपछि बन्ने सरकारले विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गर्ने बताए ।

सविधान र घोषणापत्रका आधारमा सरकार सञ्चालन हुने उनको भनाई थियो । बाम गठबन्धनबाट हतास मनिस्थितिका कारण दुष्प्रचार गरिएको भन्दै पोखरेलले नकारात्मक प्रचार गरिएकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । सरकारले नै योजनाबद्व ढंगले हिंसात्मक गतिविधिलाई प्रशय दिएको महासचिव पोखरेलले आरोप लगाए । ‘हाम्रो गठबन्धन कसैको विरुद्व होइन, गलत प्रचार गर्नुको कुनै अर्थ छैन,–‘उनले भने ।

महासचिव पोखरेलले अधिनायकवादको कुरा बेकार भएको भन्दै वामगठबन्धनको सरकारले संविधानले प्रदत्त गरेका ३२ वटा मौलिक हक कडाईका साथ पालन गर्ने बताए । कांग्रेसकै कार्यकर्ताको घरमा बम भेटिनु गम्भीर कुरा भएको उनको भनाई थियो । ‘हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन्, यसले गम्भीर आशंका पैदा भएको छ’–उनले भने ।

गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमा भेटिएको बमका सम्बन्धमा नेपाली कांग्रेस तथा सरकारको धारणा सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गरे । ‘कम्युनिस्ट समस्या लिएर आउँदैन्, समाधान दिन्छन्’–उनले भने । नयाँ ढंगले देशको आर्थिक विकासमा लाग्न कम्युनिस्ट गठबन्धन आतुर भएको उनको भनाई थियो ।

चुनावपछि मात्रै पार्टी एकताबारे बहस गरेर टुंगोमा पुगिने महासचिव पोखरेलले बताए । ‘मंसिर ९ गते पार्टी एकता गलत नियतले उठाइएको थियो’ उनले भने । ‘को के भन्ने र कस्तो रणनीति लिएर पार्टी एकटा गर्ने चुनावपछि बृहत छलफलपश्चात टुंगोमा पुग्ने छौं’ उहाँले भने । दोस्रो चरणमा मंसिर २१ गते हुने १ सय २८ क्षेत्र मध्ये १ सय ५ क्षेत्र जित सुनिश्चित भएको महासचिव पोखरेलले बताए ।