Banner News

प्रचण्ड र नेपाल पेप्सिकोलामाः ढुक्क भएर वाम गठबन्धनलाई मतदान गर्न प्रचण्डकाे आग्रह



काठमाडौँ, १६ मंसिर । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड राजनीतिलाई कठिन मोडबाट सहजतातिर ल्याउने कुसल पात्रका रुपमा परिचित हुनुहुन्छ ।

मुलुकमा वाम गठबन्धन लहर चलिरहेका बेला नेपाल र प्रचण्ड चर्चा अलिक परक खालको देखिएको छ । केही समय अघि प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा डुब्नुभएका प्रचण्डलाई साथमै लिएर नेपाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन पुग्नु भएको थियो । चितवनमा आयोजित सभामा प्रचण्डले कुनै सम्वोधन नगरे पनि नेपालले भने प्रचण्डलाई भारी मतसहित विजयी गराउन अपिल नै गर्नुभएको थियो ।

आज फेरि उहाँहरु दुबै एउटै मञ्चमा देखिनुभयो । त्यो पनि नेपालको चुनावी क्षेत्र काठमाडौँ–२ मा एकै मञ्चमा दुबै दलका शीर्ष नेताले कसिलो गरी हात बाँधेर मतदातातिर फर्किदैँ अविवादन गर्दा तालीको गडगडाहट केहीबेर सुनिरहेको थियो । त्यति मात्र होइन मञ्चबाट दुबैले संक्षिप्त मन्तव्य पनि राख्नुभयो ।

पहिला मन्तव्य राख्नुभएको प्रचण्डले केही दिन अघिदेखि नै नेपालको चुनावी सभामा सहभागी हुने इच्छा भए पनि व्यस्ताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘केही दिन अघिदेखि नै म यहाँ आउने तयारीमा थिएँ । प्राविधिक कारणले आउन सकिन,’ प्रचण्डले भन्नुभयो, ‘शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने मध्येका एक पात्र माधव नेपाल राजनीतिक संकटलाई पार लगाउन सकने क्षमता भएको व्यत्तित्व हुनुहुन्छ ।’

मतदातासँग मतमाग्दै करिब एक घण्टा पेप्सीकोला क्षेत्रमा विताउनु भएका प्रचण्डले वामगठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गर्नुभयो । ‘यो क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,’ प्रचण्डले भन्नुभयो, ‘यस्तो व्यक्ति तपाईँहरुले प्राप्त गर्नुभएको छ । यो तपाईँहरुको पनि गौरवको कुरा हो ।’

प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने एक महत्वपूर्ण पात्र नेपाललाई विजयी बनाएर पठाउनु भनेको वाम एकतालाई वलियो बनाउनु पनि भएको दाबी गर्नुभयो । प्रचण्डपछि मन्तव्य राख्नु भएको नेपालले पनि प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । ‘हामी दुई जनता फरक–फरक आन्दोलनका प्रतिक हौँ,’ नेपालले भन्नुभयो, ‘अहिले एकै ठाउँ उभिएका छौँ । प्रचण्डजी फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति हुनुहुन्छ ।’

नेपालले त्यसो भन्दा प्रचण्ड केही मुस्कुराउनु भएको थियो । ‘उहाँ राजनीतिका लागि कुशल व्यत्तित्व पनि हो,’ प्रचण्डतिर फर्किएर नेपालले भन्नुभयो, ‘हामी एकै ठाउँ छौँ । राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताका व्यक्ति प्रचण्डजी र हामी एकै ठाउँ भएपछि वाम मुलुक वाममय बन्नेछ’ नेपालले त्यसो भन्दा मतदाताले ‘पुसको पहिलो हप्तामा वाम गठबन्धन सत्तामा, वाम एकता जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।