Banner News

संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँः अध्यक्ष दाहाल



चितवन २८ मसीर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताएका छन् ।

नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताए ।

उनले संघीय गणतन्त्रको संविधान काँग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताए । जनतासामु यही कबुल गरेको उनको भनाइ थियो ।

“वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो,” उनले भने । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र कानूनी राज्यको पक्षमा दृढतापूर्वक उभिएको र आउने दिनमा अझ राम्रोसँग यी कुरा प्रमाणित हुने अध्यक्ष दाहालले बताए ।

देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको मुख्य एजेण्डालाई प्रमुखता दिएर नै वाम गठबन्धन बनाएको र जनताले त्यसलाई राम्रोसँग अनुमोदन गरेको उनले बताए । नेपाली जनताको आशा र अपेक्षाअनुसार वामपन्थीको सरकारले राजनीतिक स्थायित्व प्रदान गर्ने, आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाई डो¥याउने अध्यक्ष दाहालको भनाइ थियो ।

सुशासन, भ्रष्टाचार महारोग भएको छ, यसलाई नियन्त्रण गर्ने, सुशासन कायम गर्ने जनताको प्रमुख आकांक्षा हो, त्यो हामीले पूरा गछौं, उनले भने । दशकौँदेखि नेपाली जनताले यसैका लागि संघर्ष गर्दै आएको बताउँदै उनले भने, स्थायित्व दिन्छौँ, सुशासन दिन्छौँ र आर्थिक समृद्धिततर्फ देशलाई लैजान्छौँ भन्ने कुरा जनतासँग संकल्प गरेका थियौैँ, यो नेपाली जनताले उत्साहजनक ढंगबाट अनुमोदन गरेका छन् ।

निर्वाचनमा जनताले वाम गठबन्धनप्रति देखाएको समर्थन गठबन्धनका नेताको लागि ठूलो जिम्मेवारी भएको र जनताले सुम्पेको त्यो जिम्मेवारी गम्भीरताका साथ आत्मसात् गर्ने र जनअपेक्षाअनुसार आफूहरुलाई अग्निपरीक्षामा खरो उतार्ने उनले बताए ।

वाम गठबन्धनलाई र निर्वाचनको यस विजयलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै उनले भने छिमेकीदेखि सिंगै अन्तरराष्ट्रिय समुदायको पनि यसतर्फ के होला भन्नेतिर गहिरो ध्यान छ, हामीले यसलाई गम्भीररुपमा लिएका छौँ ।

चितवनको विकास र समृद्धिका लागि जनतासमक्ष प्रतिबद्धता गरेका विषयमा दृढतापूर्वक उभिने बताउँदै अध्यक्ष दाहालले वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले चितवनमा निर्वाचन लड्दा पहिलो पटक निर्वाचन लडेजस्तो महसुस भएको बताए । “यसअघि रोल्पा, काठमाडौँ, सिराहाबाट निर्वाचन लड्दा वास्तवमा चुनावै लडे जस्तो महसुस भएको थिएन,” उनले भने । अहिलेको निर्वाचनमा चितवनका जनतासँग नजिकबाट भावना बुझ्न कोसिस गरेको उनले बताए ।

यस पटकको निर्वाचनमा सबै खाले तिता मिठा अनुभव गरेँ, अध्यक्ष दाहालले भने ।

चितवनमा आम सञ्चार प्रष्ठिान स्थापना गर्ने पत्रकारको चाहना आफूले बुझेको र प्रतिष्ठान स्थापना गर्नका लागि वाम गठबन्धनभित्रबाट र सरकारको तर्फबाट गर्नुपर्ने काममा आफ्नो पहल हुने उनले बताए ।

कार्यक्रममा नेकपा एमाले का पोलिटब्यूरो सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्वाचन जित्दैमा विकास नहुँने र विकास कठिन तर असम्भव नरहेको बताए । चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले दृष्टिकोण र संकल्पसहित अघि बढेमा मात्रै विकास सम्भव हुने बताए।

परिश्रमी जनता र संकल्पकसहितको इमान्दार सरकार भए विकासले गति लिन्छ, उनले भने ।

कार्यक्रममा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष शान्ता अधिकारीलगायतले बोलेका थिए ।