Banner News

काजीले भने – यो वामगठबन्धनको मात्र जनादेश होइन पार्टी एकताको पनि हो



काठमाडौ,५ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचनमा वामगठबन्धनको विजय गठबन्धनका लागि मात्रै नभएर पार्टी एकताकै जनादेश भएको बताएका छन्। राष्ट्रिय सभागृहमा निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टी एकता हुनै पर्ने तर्क गरे।

‘यो वामगठबन्धनको मात्र जनादेश होइन पार्टी एकताको पनि जनादेश हो,’ उनले भने, ‘अबका सबै कार्यक्रम एमालेद्वारा, माओवादीद्वारा होइन एकीकृत कम्युनिस्ट पार्टीद्वारा गर्ने अवस्था बन्नुपर्छ।’

उनले कांग्रेसले ढोँगी कुरा गरेको आरोप लगाए। ‘आफूले जितेमात्र लोकतन्त्र हुने ढोँगी कुरा गर्न मिल्दैन कांग्रेसले,’ उनले भने, ‘कांग्रेसलाई हामीले जित्ने अवस्था हुँदाहुँदै हारिदिए मात्र लोकतन्त्र हुनेरु यो कस्तो लोकतन्त्र हो

उनले आफूहरु सरकार निर्माणपछि पनि प्रतिपक्षीसँग मिलेर अगाडि बढ्न तयार रहेको बताए। नेता श्रेष्ठले कम्युनिष्ट पार्टीको विजयको वास्तविक औचित्य खाडीमा काम गरिरहेका ४० लाख मजदूरले देशमै रोजगारी पाएपछि मात्रै पुष्टि हुने पनि बताए। ‘अदक्ष मजदुरका रुपमा विदेशमा काम गरिरहेका ४० लाख युवाले आफ्नै देशमा रोजगारी प्राप्त गर्न सक्ने अवस्था भएपछि मात्र हाम्रो वास्तविक विजय भएको ठहर्नेछ,’ उनले भने।