सम्पादकीय

प्रधानमन्त्री दाहाल भेटवार्ता



काठमाडौं ७ मसीर । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभा अध्यादेश र सरकार निर्माणमा देखिएको अवरोध अन्त्यका लागि दलहरूबीच संवादको वातावरण बनाइ सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेटी दाहालले संवादहीनताले दलहरूबीच आपसी विश्वास घट्ने र समझदारी निर्माणमा जटिलता उत्पन्न गर्ने भएकाले तत्काल संवादको वातावरण निर्माण गर्न आग्रह गरेका हुन् । राष्ट्रियसभा गठन एकल संक्रमणीय वा बहुमतीयमध्ये कुन प्रक्रियाबाट गर्ने एमाले(कांग्रेसबीचको विवाद जटिल हुँदै गएपछि दाहालले सहमतिको प्रयास थालेका हुन् । कांग्रेस एकल संक्रमणीय र एमाले बहुमतीय आधारमा राष्ट्रियसभा गठन हुनुपर्ने पक्षमा अडिग छन् । दुवैको अडानका कारण प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच लामो समयदेखि संवादसमेत हुन सकेको छैन ।

‘दलहरूबीच बैठक बसेर सहमति खोज्यौं, विवाद लम्ब्याउनेभन्दा पनि सहमतिमा जाने विकल्पमा छलफल गरौं भनेर अध्यक्षले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ’, दाहालका स्वकीय सचिव जोगबहादुर महराले भने, ‘अध्यक्षको प्रयास अहिले राजनीतिक सहमति निर्माणमा छ ।’ दाहालले पुस १ मा पनि प्रधानमन्त्री देउवासँग भेटी कांग्रेस र एमालेले अहिले लिइरहेको अडानको मध्यमार्गी बाटो खोजी समस्या समाधान गर्न आग्रह गरेका थिए ।

देउवासँग बिहीबारको भेटमा दाहालले एकल संक्रमणीय अवधारणामा सहमति खोज्न सकिनेतर्फ पनि ‘ग्रिन सिग्नल’ देखाएको बालुवाटार स्रोतले बतायो । राष्ट्रपतिकोमा अड्किएको अध्यादेशमा समेटिएको संक्रमणीय वा बहुमतीयमा माओवादी पक्ष(विपक्षमा खुलिसकेको छैन । अहिलेसम्म उसले मध्यमार्गी सहमति खोज्नुपर्ने बताइरहेको छ ।

माओवादीलाई एमालेसँगको गठबन्धनका कारण एमालेको अडानभन्दा बाहिर जान अप्ठ्यारो देखिएको छ भने कांग्रेसले अहिले लगेको प्रस्तावमा पनि उसको विमति देखिएको छैन । २०४८ सालमा गठित राष्ट्रियसभामा एकल संक्रमणीय अवधारणा नै अवलम्बन गरेकाले त्यसरी नै मध्यमार्गी बाटो अवलम्बन गर्न सकिनेमा पनि माओवादी लचिलो हुन सक्ने देखिएको छ ।

दाहालको मुख्य दलबीच संवादको प्रस्तावमा प्रधानमन्त्री देउवाले आफू संवादको वातावरण निर्माण गर्न सदैव तयार रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । ‘माओवादी अध्यक्षले कांग्रेसका कुरा आफ्ना ठाउँमा ठीकै छन्, तर केही शीर्ष नेता बसेर छलफल गरौं र एउटा निष्कर्ष निकालौं भनेर भन्नुभयो’, प्रेस संयोजक परियारले भने, ‘प्रधानमन्त्रीले छलफलका लागि म तयार छु, तर अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन । अरु कुरामा दलहरूबीच बस्ने र समझदारी खोज्न म खुला छु भन्नुभयो ।’

प्रधानमन्त्रीले मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीको मात्र नभई संसदमा प्रतिनिधित्व गर्ने ५ वटै दलको बैठक राख्न सकारात्मक रहेको प्रतिक्रिया दाहाललाई दिएका थिए । ‘छलफलको वातावरण म बनाउँला, तर अध्यादेशबाहेकका अरु विषयमा सामूहिकतामा जाने विषयमा एकै ठाउँमा छलफल गर्न सकिन्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै दाहालको सचिवालयले बतायो ।

तर प्रधानमन्त्री अझै केही दिन राष्ट्रपतिकहाँ पठाएको विधेयक पर्खने र हेर्ने रणनीतिमा रहेको कांग्रेसस्रोतले बतायो । ‘कांग्रेस पनि दलहरूबीच मिलेरै जाने पक्षमा छ, तर अध्यादेशमाथि एमालेले राजनीति गर्न खोजेकाले मात्रै समस्या आएको हो’, कांग्रेसका एक नेताले भने, ‘कांग्रेस अहिलेसम्म अध्यादेश फिर्ता गर्ने वा पछि हट्नेमा छैन ।’अन्नपुर्णमा समाचार छ