Banner News

एकतामा देखिने जटिलताका विभिन्न विकल्प खोजिसकेका छौं: प्रचण्ड



काठमाण्डौ १० पुष । आजभोलि कहिलेकाहिँ मिडियामा खासगरी कतिपय समाचारहरु बडो भ्रामक भइदिने र तिनले जनमानसमा निकै नै नकारात्मक धारणा बनाइदिने गरेको छ । यस बीचमा पार्टी एकता वा वाम गठबन्धन के हुन्छ भन्ने बारेमा मिडियामा कहिँ न कहिँ कपोलकल्पित खालका र भ्रामक समाचारहरु आएका छन् । बुद्धिजीवी साथीहरुले त्यस्ता समाचारहरुको आधिकारिकता पुष्टि नगरिकन तिनलाई विश्वास नगरिदिन म अनुरोध गर्न चाहन्छु ।

म के भन्न चाहन्छु भने हाम्रो पार्टी एकताको प्रक्रिया गम्भीरताका साथ अगाडि बढेको छ । कमरेड केपी ओली र म बीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् । नेपाली जनताले, बुद्धिजीवीले र आम कार्यकर्ताले समेत अनुमोदन गरिसकेको र हामीले एउटा निर्णायक पहल गरिसकेको कुराबाट पछि हट्ने कल्पना लिडरसिपले कहिँ कतै गरेको छैन । म तपाईंहरुलाई त्यो विश्वास दिलाउन चाहन्छु ।

मैले भनेको छु, हामीले पुल भत्काएर अगाडि बढेको हो । फेरि फर्किने ठाउँ राखेर अगाडि बढेकै होइन । एमालेका नेताहरुले पनि र माओवादीका नेताहरुले पनि । मैले र कमरेड केपी ओलीले जानीबुझीकनै पुल बाँकी राखियो भने फर्किने खतरा रहन्छ पूरै भत्काइदिउँ भनेर पुल भत्काएर एकैचोटी हामफालेको हो । त्यस कारण अव पछाडि फर्किने कुनै सम्भावना छैन । हुनसक्छ, मिलाउने कुरामा केहि जटिलता हुन पनि सक्छ । तर, ती जटिलताका विभिन्न विकल्प हामीले सोचिसकेका छौं । ती विभिन्न विकल्प मध्ये कुनै पनि विकल्प पार्टी एकता र वाम गठबन्धनलाई कमजोर पार्ने होइन अगाडि जाने मात्रै विकल्प छन्, पछि हट्ने विकल्प छैनन् । यो कुरा प्रष्टसँग राख्न चाहन्छु । चक्पथ बाट ।