Banner News

केही भ्रम र अन्योल बिच पार्टी एकता र सरकार गठनबारे आज वार्ता



काठमाडौं १२ पुष । एमाले र माओवादीबीच पार्टी एकता र सरकार गठनका विषयमा आज वार्ता हुँदैछ । दुवै दलका अध्यक्षबीच बिहान हुने छलफलमा पार्टी एकता र सरकार गठनको विषयमा सँगसँगै छलफल हुनेछ। दुई दलका अध्यक्षपछि कार्यदलले नीतिगत छलफल गर्नेछ ।

बिहान नौ बजे सुरुमा दुवै अध्यक्षबीच मात्रै र त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच वार्ता हुने दुवै दलले जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिले दुवै दलका अध्यक्ष र त्यसपछि दुवै दलका दोस्रो तहका नेताबीच छलफल अघि बढ्ने बताए । चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् ।

दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पु¥याउन दुवै दलका नेताहरु बस्न लागेका हुन् । गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको हो ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको छ ।