Banner News

ओली –दाहाल भेट वार्ताः पार्टी एकता अघि बढाउन के –के भयो सहमति ?



काठमाडौ, १२ पुस । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेको बेला दुवै पार्टीका अध्यक्षले एकता प्रक्रिया अगाडि बढाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता अघि बढाउने सहमति भएको हो ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बुधबार दिउँसो भएको ओली र प्रचण्डको भेटमा पार्टी एकता प्रक्रिया अघि बढाउने, सरकार गठन, राष्ट्रिय सभा अध्यादेशलगायतका विषयमा छलफल भएको हो । जनताले दिएको नयाँ जनादेश अनुसार सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निचोड ओली र प्रचण्डको छ । प्रचण्ड र ओलीले छलफल अघि आन्तरिक गृहकार्य गरेका थिए ।

एमाले र माओवादीको चुनावी तालमेललाई जनताले अनुमोदन गरेर पार्टी एकताको आदेश दिएको दुवै पार्टीका नेताहरुको बुझाइ छ । छिट्टै पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति समेत दुई अध्यक्षले गरेका छन् । पार्टी एकता प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्णय एकता संयोजन समितिले गर्नेछ । छलफलपछि बाहिरिने क्रममा प्रचण्डले भने ‘विभिन्न विषयमा छलफल भयो। पार्टी एकतामा कुनै समस्या छैन ।’

ओली र प्रचण्डबीच करिब डेढ घन्टा भेटवार्ता भएको थियो । निर्वाचन परिणाम आइसकेपछि ओली र प्रचण्डबीच पहिलो पटक भेटवार्ता भएको हो । ‘पार्टी समायोजन समितिको बैठक बिहीबार वा शुक्रबार बस्ने सहमति दुई शीर्ष नेतृत्वबीच भएको छ,’ प्रचण्डका स्वकीय सचिव मनहरि तिमिल्सिनाले भने ।

अध्यादेशको गाँठो फुकाउन सरकार तयार हुनुपर्ने, जतिसक्दो छिटो एकता प्रक्रियालाई टुंग्याउने, सरकार गठनमा ढिलाइ गर्न नहुनेमा दुई नेता सहमत भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । नेपाल पाटीबाट