सम्पादकीय

तीन हजार वडामा सचिव खाली



काठमाडौं १४ पुष । स्थानीय तहको चुनाव सकिएको ६ महिना बितिसक्दा पनि देशभर ३ हजार ५८ वडामा वडा सचिव अझै खाली छन् । सचिव नहुँदा स्थानीयलाई सामान्य काम गर्न पनि असजिलो भएको छ ।
स्थानीय विकास मन्त्रालयले ७७ जिल्लामा ३ हजार ५८ वडामा वडा सचिव खाली भएको विवरण सामान्य मन्त्रालयलाई पठाउँदै सकेसम्म चाँडो वडा सचिव पठाउन मन्त्रालयलाई आग्रह गरेकोछ । समान्यले भने स्थानीयबाट औपचारिक चिठी अझै नआएको दाबी गरेको छ ।

स्थानीय मन्त्रालयका अनुसार काठमाडांै, ललितपुर र भक्तपुरका नगरपालिकाकाका वडामासमेत वडा सचिव खाली छन् । काठमाडौंमा ४१, ललितपुरमा ३२ र भक्तपुरमा ५ वडा सचिव खाली भएको मन्त्रालयले जनाएको छ । सुगम मानिने रूपन्देहीमा ६५, कपिलवस्तुमा ४०, झापामा ६१, इलाममा ५२, पर्सामा ६२, सिन्धुपाल्चोकमा ५१, धुनषामा ५८, सुनसरीमा ४५ र मोरङमा ६४ वडा सचिव खाली भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख विजय सुबेदीे वडा सविच खाली भएका वडा कार्यलयमा अन्तरिम रूपमा व्यवस्थापन गरिएको बताए । उनले भने, ‘वडा सचिव नहुँदा एउटा वडा सचिवले दुई, तीनवटा वडासम्म वडा कार्यलय हेर्नुपरेको छ ।

यसबाट जनताको दैनिक काम प्रभावित भएका छन् ।’ वडा सचिव खाली भएका वडा कार्यलयमा प्राविधिक कर्मचारी, करार कर्मचारी वा अन्य तहका कर्मचारीबाट काम चलाउने गरिएको पनि सुवेदीले जानकारी गराए । यसैगरी कर्मचारी प्रशासन महाशाखाको शाखा अधिकृत रविन्द्रजंग थापाले वडा सचिव खाली भएको वडा कार्यलयको विवरण समान्य प्रशासन मन्त्रालयमा एक डेढ हप्ता अघि नै पठाएको दाबी गरे । ‘खाली भएको वडामा वडा सचिव पठाउन हामीले समान्य प्रशासनलाई आग्रह गरेका छौ,’ उनले भने । समान्य प्रशासनका प्रवक्ता शिवराम न्यौपानेले भने वडा सचिव पठाउन स्थानीयले सामान्य प्रशसन मन्त्रालयसँग औपचारिक आग्रह नै नगरेको बताए । ‘औपचारिक रूपमा त्यस्तो चिठी आएको मलाई जानकारी छैन । अनौपचारिक रूपमा कसले के भने मलाई थाहा भएन,’ उनले भने । मन्त्रालयले वडा सचिवमा जाने कर्मचारी खरिदार या नायब सुब्बा सरह हुने निर्णय यसअघि नै गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डले तुलसीपुर उपमहानगर पालिकामा विषयगत प्राविधिक कर्मचारी र नायब सुब्बा तहका केही कर्मचारीको अभाव भन्दै त्यसबाट जनताको दैनिक काममा प्रभावित भएको बताए । उनले भने, ‘वडामा नायब सुब्वा सरहका कर्मचारी नहुँदा खरिदार सरहका कर्मचारीले काम चलाइरहेका छन् ।’ प्राविधिक तहका कर्मचरारी पठाउन आफूले मन्त्रालयमा ताकेता गरे पनि मन्त्रालयले अझै नपठाएको गुनासो पनि उनले सुनाए । स्थानीय विकास मन्त्रालयले ३ हजार ५८ वडा सचिवबाहेक सहसचिव सरहका २, उपसचिव सरहका २१ र शाखा अधिकृत सरहका ५१ कर्मचारी खाली भएको जनाएको छ । ६ वटा महानगरपालिकामा सहसचिव सरह, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव सरह कर्मचारी पठाउने निर्णय स्थानीयले गरेको छ । यसअनुसार देशभरका ७७ जिल्लामा १ सय ७७ उपसचिव सरहका कर्मचारी अझै आवश्यक रहेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत थापाले जानकारी गराए । गाँउपालिकामा भने शाखा अधिकृत सरह कर्मचारी पठाउने निर्णय मन्त्रालयले गरेको छ ।
समान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमा करिब १३ हजार कर्मचारी हाल कार्यरत छन् । थप कर्मचारीका लागि कर्मचारी व्यवस्थापन गर्न स्थानीय मन्त्रालयले औपचारिक रूपमा आग्रह गरेमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिने सामान्यका प्रवक्ता न्यौपानेले जानकारी गराए । स्थानीय मन्त्रालयले स्थानीय तहलाई आफुखुशी कर्मचारी भर्ना नगर्न परिपत्र गत असार महिनामा गरेको छ । जनप्रतिनिधिले भने आवश्यक पर्ने कर्मचारी आफैं भर्ना गर्न नपाउँदा दैनिक व्यवस्थापनमा बाधा भइरहेको गुनासो गरेका छन् ।नागरिक मा समाचार छ ।