सम्पादकीय

निर्वाचन आयोगको निष्कर्ष , प्रतिनिधिसभाको परिणाम राष्ट्रिय सभा निर्वाचनपछि



काठमाण्डौ १७ पुष । प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएको निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभा निर्वाचनको परिणाम घोषणा गर्ने भएको छ ।

आयोगले राष्ट्रिय सभा निर्वाचनपछि प्राप्त परिणामका आधारमा संघीय संसद्मा अपुग महिलाको संख्यालाई पूर्ति गर्नुपर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम घोषणा गर्ने बताएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्मा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनपछि प्राप्त परिणामका आधारमा समानुपातिकतर्फबाट अपुग संख्याको पूर्ति गर्नुपर्ने स्पष्ट पारेका हुन् ।

‘संविधानले नै संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ, संवैधानिक व्यवस्थालाई सबैले मान्नुपर्छ, राष्ट्रिय सभा निर्वाचनपछि प्राप्त परिणामका आधारमा महिलाको संख्या कति अपुग हुने हो, समानुपातिक प्रणालीबाट टुंगो लगाउनुपर्छ,’ प्रमुख आयुक्त यादवले भने ।

प्रमुख आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचन मिति घोषणा भएको बढीमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार आयोगले काम गर्नेसमेत प्रस्ट पारेका छन् ।

यादवले राष्ट्रिय सभाको निर्वाचनअघि नै सरकारले प्रदेश प्रमुख तोक्नुपर्नेमा समेत जोड दिए । उनले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदहरूको सहभागिता हुने र त्यसका लागि प्रदेश सांसदको शपथ प्रदेश प्रमुखबाटै गराइनुपर्ने भन्दै पहिले प्रदेश प्रमुख नियुक्त हुनुपर्ने बताए ।

‘राष्ट्रिय सभा निर्वाचनको मतदाता प्रदेश सांसद भएकाले उनीहरूले पहिला शपथ लिनुुपर्ने हुन्छ, त्यसका लागि प्रदेश प्रमुखको आवश्यकता छ,’ यादवले भने ।

उनले आयोगले समानुपातिकतर्फको मतपरिणाममा ढिलाइ गरेको भन्ने कुरामा सत्यता नभएको भन्दै कानुन हेरेर बोल्न राजनीतिक दलका नेताहरूलाई आग्रहसमेत गरे । यादवले आयोगले संविधानको व्यवस्थालाई केलाएर निर्वाचनका गतिविधि अगाडि बढाइरहेको भन्दै आयोगको भूमिकामाथि आशंका गर्नुपर्ने कुनै ठाउँ नै नभएको समेत स्पष्ट पारे ।

१० र २१ गरी दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रत्यक्षतर्फको सबै परिणाम सार्वजनिक भइसकेको छ भने प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारसमेत चयन हुने प्रक्रियामा छन् । प्रतिनिधिसभातर्फका १ सय १० सांसद समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।राजधानीमा समाचार छ ।