Banner News

पार्टी एकता बारे माओवादीको निष्कर्ष : पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक व्यक्ति हुनुपर्ने



काठमाडौं१८ पुष । नेकपा एमालेसँग पार्टी एकताको क्रममा रहेको नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालयको बैठकले पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी एकताको लक्ष सहित वाम गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभको चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिखेर पार्टी एकताको प्रकृयामा छन् । तर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई पार्टीलाई बहुमतको सरकार बनाउने मत प्राप्त भएपछि पछिल्लो सयम पार्टी एकताको विषय जटिल बन्दै गएको छ ।

सरकार र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा एमाले–माओवादीबीच विवाद रहँदै आएको छ । नेकपा एमाले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति त्यसमा पनि एमालेकै हुनुपर्ने पक्षमा रहेको छ । तर, माओवादी भने पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने पक्षमा छ । मंगलबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुनुपर्ने निष्कर्ष निकालेका हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भूषालले भने पार्टी एकता र सरकार गठन प्रकृया सँगसँगै लैजाने निर्णय भएको जानकारी दिए । पार्टी एकताको विषय प्राथामिकतामा नगरेको भन्दै माओवादीले पार्टी एकताका विषयमा बुधबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग विषेश छलफल गर्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी एकताको विषयमा आन्तरिक व्यवस्थापनका लागि नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएको छ ।