भक्तपुर २२ पुस ।भक्तपुरको सूर्यविनायक जंगलमा निर्माण गर्न लागेको राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना आज सार्वजनिक गरिएको छ । सूर्यविनायक नगरपालिकाको संयोजन तथा राष्ट्रिय प्राणी उद्यानको आयोजनामा भएको सुझाव संकलन कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो ।
गुरुयोजना सार्वजनिक कार्यक्रममा सहभागीले स्थानीयलाई योग्यताअनुसारको रोजगारी दिनुपर्ने, प्राणी उद्यानभित्र रहेका खानेपानी मुहान, पानी ट्यांकी र पाइपको संरक्षण हुनुपर्ने, स्थानीयलाई खानेपानीबाट वञ्चित गर्न नहुने, उद्यानभित्र सञ्चालित हुने व्यवसाय स्थानीयलाई दिनुपर्ने, उद्यानभित्र पर्ने सडक बन्द गर्न नहुने माग राखेका छन् ।
त्यसैगरी प्रशिद्ध एवं ऐतिहासिक धार्मिक सम्पदाका रुपमा रहेको सूर्यविनायक गणेश मन्दिरलाई उद्यानले कब्जा गर्न नहुने, स्थानीयले जंगलमा गर्दै आएको कूलपूजालाई रोक्न नहुने, सूर्यविनायकका बासिन्दालाई निःशुल्क प्रवेशको व्यवस्था गर्नुपर्नेलगायत २७ वटा माग राखेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असार ९ गते शिलान्यास गर्नुभएको राष्ट्रिय प्राणी उद्यान अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकाभित्रका गुण्डु, सूर्यविनायक र सिपाडोलको सातवटा सामुदायिक वनको २५९ हेक्टर क्षेत्रफलमा उद्यान निर्माण हुने भएको छ ।
सार्वजनिक गरिएको गुरुयोजनानुसार प्राणी उद्यानले २४५ हेक्टर क्षेत्रफलमा अन्तरराष्ट्रियस्तरको चिडियाखाना र राष्ट्रिय प्रकृति संरक्षण कोषले १४ हेक्टर क्षेत्रफलमा पशु उपचार केन्द्र निर्माण गर्ने भएको छ ।
प्राणी उद्यानको सबै निर्माण सम्पन्न गर्न रु पाँच अर्ब लाग्ने भएको छ । जसमा गणेशमान बाटिका, सिपाडोल र गुण्डुतर्फ तीन वटा गेट बन्ने भएको छ भने सात भागमा विभाजन गरी ३० प्रतिशत क्षेत्रफलमा भौतिक संरचना निर्माण गर्ने, प्राणी उद्यानको वरिपरि रिङरोड बनाउने, वरिपरि तार बार लगाउने, कटुञ्जेको भञ्याङबाट गुण्डु कार्की गाउँसम्म आकाशे पुल बनाउने, सिपाडोलदेखि गुण्डुसम्म सुरुङ मार्ग बनाउने गुरुयोजनामा उल्लेख छ ।
प्रारम्भिक गुरुयोजनामा भने प्राणी उद्यानभित्र पशु उपचार केन्द्र, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्क, स्वीमिङ पुल र व्यायामस्थल समेत निर्माण गरिने गरी २० वर्षमा कुल लागत रु एक अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।
कार्यक्रममा प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेतीले खानेपानी र सडकको स्तरोन्नति गरी स्थानीयलाई उपभोगमा रोक नलगाउने, कूलपूजा नरोक्ने, विद्यालयको स्तरोन्नति गर्ने, राजकूलोको व्यवस्था गर्ने, सूर्यविनायक गणेश मन्दिर क्षेत्रको विकास गर्ने, त्यसको हस्तक्षेप नगर्ने र अझै पनि स्थानीयको सुझाव लिएर अगाडि बढ्ने बताउनुभयो ।
त्यसअवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले स्थानीयको पक्षमा र उनीहरुको मागलाई सम्बोधन गरेर प्राणी उद्यान निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्राणी उद्यान निर्माणका क्रममा स्थानीयको मागलाई सम्बोधन गराउन वडा नं ६, ७ र ८ का वडाध्यक्षको टिम नगरपालिकाले प्रतिनिधित्व गरेर पठाएको बताउँदै वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले स्थानीयको सहभागिता र समन्वयमा नै प्राणी उद्यान निर्माण अगाडि बढाउने बताउनुभयो ।
सरकारले सेतीदेवी, सूर्यविनायक, सञ्जीवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवी सामुदायिक वनलाई मिलाएर राष्ट्रिय प्राणी उद्यान बनाउने निर्णय गरेको थियो ।
कार्यक्रममा सातवटै सामुदायिक वन उपभोक्ता समिति संयोजक एवं सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका सचिव विश्वराम थापाले सरकारसँग २७ बुँदे माग राखेको बताउँदै ती मागलाई सम्बोधन हुनुपर्ने बताउनुभयो । जनता टाईम्स
प्रतिक्रिया दिनुहोस्