काठमाडौ २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार ‘वान टु वान’ वार्ता भएको छ।पछिल्ला केही दिनयता पार्टी एकता र नयाँ सरकार गठनका विषयमा फोन संवाद गर्दै आएका दुवै शीर्ष नेताले एक्लाएक्लै भेटेर छलफल गरेका हुन्।
दुई नेताबीचको भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा भएको हो। एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड आइतबार नै चितवनबाट काठमाडौं आइपुगेका हुन्। बिहीबार चितवन गएका प्रचण्ड शनिबार काठमाडौं फर्कने कार्यक्रम भए पनि खराब मौसमका कारण आउन सकेका थिएनन् सकेनन्।
पार्टी एकताको सैद्धान्तिक र सांगठनिक मोडालिटीका विषयमा दोस्रो तहका नेतालाई खटाएका दुवै शीर्ष नेताले सरकार र पार्टी नेतृत्व विषयको छलफललाई आफूमै सीमित राखेको वाम गठबन्धनका नेताहरु नै बताउँछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार र पार्टी नेतृत्वमध्ये एक छान्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्दै आएका छन्।
एमाले अध्यक्ष ओलीले एकीकृत पार्टीको नेतृत्वसँगै सरकारको नेतृत्व गर्ने इच्छा देखाइरहेका छन्। दुई नेताबीच पार्टी एकताको मोडालिटी र नेतृत्व व्यवस्थापन लगायतका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ।आगामी बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड जान लागेका एमाले अध्यक्ष ओलीले सोमबार पार्टीको स्थायी कमिटी बैठक समेत बोलाएका छन्।
प्रतिक्रिया दिनुहोस्