Banner News

एमाले–माओवादीले राष्ट्रियसभा निर्वाचनमा यसरी गर्दैछन् भागबण्डा



काठमाडौ,१ माघ । प्रतिनिधि र प्रदेश सभा चुनावमा वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट बुधवार टुंगाउने भएका छन् ।

बाम गठबन्धनको कार्यदलले बुधबारसम्म राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुवास नेम्वाङले बताए ।

राष्ट्रियसभा र प्रदेशका मुख्यमन्त्री तथा सभामुख लगायत पद बाँडफाँडका लागि ६ सदस्यीय कार्यदलले काम गरिरहेको छ । माघ १० मा राष्ट्रियसभा सदस्य उम्मेवार मनोनयन गरिसक्नुपर्ने र त्यसअघि नै दलहरुले उम्मेदवार चयन गर्नुपर्ने भएकाले माघ ३ भित्र बाँडफाँड टुंगो लगाउन लागिएको हो ।

कार्यदलका एक सदस्यका अनुसार माओवादीले प्रदेशतर्फ २ मुख्यमन्त्री र ४ सभामुख मागेको छ । बामपन्थी गठबन्धनको ७ मध्ये ६ प्रदेशमा बहुमत छ । तीमध्ये चार प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने निश्चित छ ।
माओवादीको प्रस्तावमा एमाले नेताहरु मौन बसेका छन् । यो विषयमा अब शीर्ष नेताहरुबीच छलफल हुनेछ ।
कार्यदलका एक सदस्यका अनुसार महिला, दलित, अपाङ्ग र खुल्ला गरी प्रत्येक प्रदेशमा दुवै दलले कुन उम्मेदवार छान्ने भन्ने पहिला दाबी गर्नेछन् । त्यसैका आधारमा उम्मेदवारी टुंगो लगाइने छ । कार्यदलले वामपन्थी गठबन्धनले प्रदेश अनुसार देशभर पाएको मतको विश्लेषणसहित उम्मेदवारी दिने छ ।

राष्ट्रियसभाका ७ प्रदेशका ५६ उम्मेदवारमा भने सम्बन्धित पार्टीका मतदाता संख्याकै आधारमा बाँडफाँट हुने नेताहरुले बताएका छन् । प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत छ । जित्ने सुनिश्चित भएका ४० सिटलाई बाँडफाँटको मुख्य आधार बनाइने स्रोतले जनाएको छ ।

४० मध्ये माओवादीले १५ दाबी गरेको छ । समग्र, उम्मेदवारीमा ३५ एमाले र १९ माओवादी उम्मेदवार बनाएर जाने मोडलमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ ।

स्थानीय तहमा माओवादीको मत एमालेको भन्दा दुई तिहाई कम छ भने प्रदेशसभामा पनि एमालेभन्दा आधा कम छ ।
नेपालपाटी