सम्पादकीय

वाम एकता मिलन बिन्दु खोज्दै ओली–दाहाल



काठमाण्डौ ७ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार तथा पार्टी नेतृत्व, प्रादेशिक सरकार भागबन्डा, राष्ट्रिय सभा सदस्य सिट संख्या बाँडफाँटलगायत विषयमा सहमतिको अन्तिम कसरतमा जुटेका छन् ।

दुवै दलका अध्यक्ष विभिन्न विषयमा प्याकेजमा नै सहमतिको खोजीमा जुटे पनि अन्तिम निचोडमा पुग्न सकेका छैनन् । दुवै दल आइतबार ९आज० पार्टी एकता संयोजन समितिको बैठकमा छलफल गरेर सहमति जुटाउने प्रयास गर्नेछन् ।

निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरिसकेकाले अब प्रदेश सरकार गठन प्रक्रिया अघि बढ्नेछ भने २४ माघका लागि राष्ट्रिय सभाको निर्वाचन मितिसमेत तोकिसकेको छ । दुई दल तत्काल राष्ट्रिय सभा र प्रदेश सरकारको विषय टुंग्याउने कसरतमा छन् ।

गत २५ पुसमा दुवै पार्टीबाट तीन–तीन जना सदस्य सम्मिलित कार्यदलले राष्ट्रिय सभामा ४३ सिटको बाँडफाँट टुंग्याएर पार्टी एकता संयोजन समितिलाई बुझाएको छ । कार्यदलले प्रदेश सरकारको गृहकार्यको जिम्मा पाए पनि छलफलपछि समितिलाई सुझाव दिँदै अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिइएको छ ।

 

कार्यदल बैठकमा सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको बहुमत पुग्ने भन्दै माओवादी केन्द्रले दुई प्रदेश माग गरेको थियो भने चारवटा एमालेको मुख्यमन्त्री भएका प्रदेशमा माओवादीको सभामुख हुनुपर्ने प्रस्ताव गरेको थियो । एमालेले भने २ प्रदेश दिन सक्ने संकेत गरे पनि ४ सभामुख दिन सकिने विषयमा सहमति जनाएको छैन ।

कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय सभा सिट संख्या बाँडफाँटको टुंगो लगाएको भन्दै प्रदेश सरकार र प्रदेश सभामुखको विषयमा कार्यदलमा मोटामोटी सहमति रहेको र संयोजन समितिको बैठकपछि पुनः छलफल गर्न आवश्यक देखिए त्यसपछि छलफल गरेर अघि बढ्ने बताए ।

ओली र दाहालले पार्टी एकताको मिलन बिन्दु पहिल्याउन छलफललाई तीव्रता दिए पनि ठोस सहमति जुटाउन सकेका छैनन् । ओली थाइल्यान्डबाट फर्किएपछि दाहालसँग ‘वान टु वान’ भेट बाक्लिएको छ । ओली र दाहालले पार्टी एकता संयोजन समितिको बैठकमा दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने गृहकार्य गरेका छन् ।राजधानीमा समाचार छ ।