Banner News

राजनीतिक प्रतिस्पर्धा रहेसम्म जबजको च्याप्टर क्लोज हुदैन



घनश्याम भूषालको एक बर्ष अघिको कुरालाई मान्ने हो भने जबजको च्याप्टर क्लोज होइन, झन सार्थकता बढेको देखिन्छ । पार्टी एकता हुनै लाग्दा अहिले उहाँ १८० डिग्री किन घुम्नुभयो, यो आस्चर्यजनक मात्र छैन, सन्देहात्मक पनि छ ।
नेपाली कम्युनिष्ट आन्दोलन अहिले निर्णायक मोडमा छ । दुईवटा प्रमुख कम्युनिष्ट पार्टी एमाले र माओवादीको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको समाचार आईरहँदा अब बन्ने नयाँ कम्युनिष्ट पार्टीको सिद्धान्त र नेतृत्व कसरी व्ब्यवस्थापन हुन्छ भन्ने सर्वत्र चासो छ । माओवादी बृत्तभित्र माओवाद र जनयुद्धलाई हेर्ने सवालमा एकतापछि बन्ने पार्टीले तलमाथि गर्ने हो कि भन्ने चिन्ता देखिन्छ भने एमालेभित्र जबजको सैद्धान्तिक निरन्तरता र के पि ओलीको नेतृत्वको निरन्तरता हुन्छ कि हुदैन भन्ने चिन्ता छरिएको पाईन्छ ।

अझ एमालेभित्र त जबजको च्याप्टर क्लोज भयो कि भएको छैन भन्ने बहस निकै उचाईमा पुगेको छ । च्याप्टर क्लोज भयो भनेर एमाले उपमहासचिव घनश्याम भुसालले आफ्ना तर्क निरन्तर सार्वजनिक गरिरहेका छन् भने महासचिव ईश्वर पोख्रेल लगायत अरु नेताले जबजको च्याप्टर क्लोज भएको होइन बरु यसको अझ सार्थकता बढेको बताईरहेका छन् । जबजको च्याप्टर क्लोजको विपक्षमा निरन्तर कलम चलाईरहेका एमाले नेता निर्मल भट्टराईसंग गरिएको कुराकानीः

प्रष्ट भनिदिनुहोस् त—अब केपी ओली माओवादी कि प्रचण्ड बहुदलीय जनवादी ?

यदि तपाईंले सारको कुरा गर्नु भएको हो भने अब के पि ओली र प्रचण्ड दुबै बहुदलीय जनवादी भईसक्नुभएको छ । कमरेड प्रचण्ड माओवादी सशस्त्र विद्रोह छोडेर तीन पटक संसदीय चुनाव लडिसक्नु भएको छ । हिजो शासन सत्ता चलाउदा र निकट भविश्यको बहुमतको सरकार सञ्चालन गर्ने सवालमा जबजका विशेषता अनुरुप चल्नुपर्ने अवस्था विद्यमान छ ।

दुई शीर्ष नेताविच भएका वान टु वान वार्तामा भएको छलफलको बाहिर चुहिएको अंशलाई हेर्ने हो भने शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानता सहितको समाजवादमा जाने विषयमा उहाँहरु सहमत देखिनुहुन्छ । यो जबजको सार हो । तपाई रुपको कुरा गर्नुहुन्छ भने रुपमा आजका मितिसम्म सहमति जुटेको छैन । एकता पछि बन्ने पार्टीको सिद्धान्तको नाम के हुने अझै तय भएको छैन ।

जबजको त च्याप्टर क्लोज भएको होइन ? तपाईको पार्टीको उपमहासचिव घनश्याम भुसालले त्यही भन्नुभएको छ ?

उहाँले अहिले किन त्यसो भनिरहनु भएको छ, बुझ्न सकिएको छैन । केही समय अगाडि उहाँको “कम्युनिष्ट आन्दोलन स् अबको बाटो” शीर्षकको कार्यपत्रमा लेख्नुभएका हरफमा त जबजको कार्यदिशालाई समाजवादमा पुग्ने कार्यदिशाको रुपमा व्याख्या गर्नुभएको छ । उहाँले लेख्नुभएको छ —“पार्टीको नवौं महाधिवेशनले पार्टीको आगामी मूल कार्यदिशा “राष्टिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्ने” भनेर प्रष्ट पारेको छ ।

बस्तुतः पार्टीको यो दिशा र वर्तमान संविधानले अपेक्षा गरेको बाटो—समाजवादी बाटोमा एकता छ । र, हाम्रो मुलुकको राजनीतिले र स्वयम् कम्युनिष्ट पार्टीले दशकौंसम्म हिड्नु पर्ने बाटो निस्चित भएको छ । त्यस्तो समाजवादी बाटोमा जनताको बहुदलीय जनवादले लोकतान्त्रिक विधि—पद्धतिलाई अवलम्बन गर्नुका साथसाथै समाजको श्रमजीवी वर्गीय रुपान्तरण गर्दै र तीन खम्बे अर्थतन्त्रको विकास गर्दै अगाडि जाने आर्थिक दिशासमेत स्पष्ट पारेको छ ।”

उहाँको एक बर्ष अघिको यो कुरालाई मान्ने हो भने जबजको च्याप्टर क्लोज होइन, झन सार्थकता बढेको देखिन्छ । पार्टी एकता हुनै लाग्दा अहिले उहाँ १८० डिग्री किन घुम्नुभयो, यो आस्चर्यजनक मात्र छैन, सन्देहात्मक पनि छ । अहिले उहाँ भन्नुहुन्छ—“१० कक्षा पास गरेको विद्यार्थी अव ११ मा जानुपर्छ, अलग्गै कोर्स पढनु पर्छ । मास्टर अलग्गै हुन्छ । हामी पनि त्यसरी नै अगाडी जानुपर्छ । अव म १० कक्षामा पढेका प्रिय किताव हरु लिएर ११ मा पढन जान्छु भनेर हुदैन । त्यसरी गयो भने के हुन्छ रु अहिले जवजको पनि अवस्था त्यही नै हो । केही समय अघिसम्म जबजलाई“दशकौंसम्म हिड्ने बाटो” को रुपमा व्याख्या गर्ने घनश्याम भुसाल कसरी एकाएक “दश कक्षाको कोर्स”संग तुलना गर्न पुग्नु भो ?

पदीय भागबण्डा मिल्दैन, एमाले माओवादी एकता हुदैन भन्ने आशङ्का पनि गरिदैछ नि ?

मैले पनि यस्तो आशङ्का सुन्ने गरेको छु । तर मलाई पटक्कै त्यस्तो लाग्दैन । अहिले नेतृत्व व्यवस्थापनको बहस चलिरहेको छ । यसले केही समय पनि लिन सक्छ । तर नेपाली जनताले जनादेश मार्फत् के पी ओलीलाई प्रथम बरियता र प्रचण्डलाई दोश्रो बरियता दिईसकेका छन् । जनताको त्यही भावना बमोजिम एकता गर्दा नै त्यो एकता सर्व स्वीकार्य हुन्छ भन्ने मलाई लाग्छ ।

एमालेमा पनि चरम गूटबन्दी छ भनिन्छ, माओवादीमा पनि त्यस्तै सुनिन्छ, एकता पछि बन्ने पार्टीको आन्तरिक जीवनको कसरी आङ्कलन गर्नुभएको छ ?

महाधिवेशन र स्थानीय अधिवेशनका बखत एमालेमा सार्वजनिक रुपमै समूहबन्दी हुदै आएको छ । सो बखत कुनै नेताको नेतृत्वमा महाधिवेशनमा वैचारिक मन्थन गर्ने र नेतृत्वको लागि निर्वाचन लड्ने गरिन्छ । यो नितान्त स्वभाविक प्रक्रिया हो । माओवादी केन्द्र युद्धको पृष्टभूमिबाट आएको र एमालेजस्तो खुल्ला र एउटा निस्चित विधिको आधारमा अन्तर पार्टी चुनाब लड्ने परिपाटी नभए पनि समूहबन्दी भएकै छ । जीवन्त पार्टीमा यो विषय चिन्ता गर्नु पर्ने विषय होईन ।

एकता पछि बन्ने पार्टीमा अहिले एमालेले अवलम्बन गरेको वा त्योभन्दा उन्नत विधि अवलम्बन गरेर पार्टीको आन्तरिक जीवन व्यवस्थित हुनेछ । पार्टी जीवनमा लोकतान्त्रिक विधि पद्धति अवलम्बन गर्दा नीति र नेतृत्व निर्माण पार्टीका आम सदश्यको सार्वभौमिक अधिकार भएकोले सदस्य कार्यकर्ता मैत्री नेता नै एकता पछि बन्ने पार्टीको नेता हुने हो । विगतमा कम्युनिष्ट पार्टीमा देखा गूटबन्दीका समस्या विधिबाट हल नहुँदा त्यसले विभाजन निम्त्यायो तर एमालेको अनुभवले देखाएको छ, पार्टी जीवनमा अपनाइएको लोकतान्त्रिक विधिले यसलाई झन मजबुत बनाएको छ । एकता पछि बन्ने पार्टीले यस्ता समृद्ध अनुभव अवस्यमेव ग्रहण गर्नेछ । न्यूज विहानी