सम्पादकीय

राष्ट्रिय सभा निर्वाचन , मत हाल्न राजधानीबाहिर



काठमाण्डौ १० माघ । प्रदेश राजधानीकै मतदाता राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न आफ्नै प्रदेशको राजधानीबाहिर जानुपर्ने भएको छ । सरकारले तोकेका सातवटा प्रदेशको अस्थायी राजधानीमध्ये प्रदेश ३, ५ र ७ बुटवल, हेटौंडा र धनगढी का सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न राजधानीबाहिर जानुपर्ने भएको हो ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोक्नुपहिले नै निर्वाचन आयोगले उच्च अदालत रहेकै स्थानमा सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि राष्ट्रिय सभा निर्वाचनका लागि बुटवल आसपासका मतदाता दाङ, हेटौंडा आसपासका मतदाता ललितपुरको पाटन र धनगढी आसपासका मतदाता डोटीको दीपायल जानुपर्ने भएको हो ।

२४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ५ को अस्थायी राजधानी रूपन्देहीको बुटवल तोकिएको छ । तर सो क्षेत्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका मतदाता गरी दुई तिहाइ मतदाता आफ्नै प्रदेशको मुकामभन्दा बाहिर मतदानका लागि जान लागेका हुन् ।

प्रदेश ५ का निर्वाचन अधिकृत हेमन्त रावलले दाङमा बुटवल आसपासका दुई तिहाइ बढी मतदाता मतदानका लागि आउन लागेको बताए । ‘दुई तिहाइ बढी मतदाता बुटवल आसपासबाटबाट दाङ आउँदै हुनुहुन्छ,’ निर्वाचन अधिकृत रावलले राजधानीसँग भने ।

रावलका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ५ मा ३०५ मतदाता छन् । जसमा स्थानीय तहका मतदाता २१८ छन् भने ८७ जना प्रदेश सांसद छन् । यस्तै, प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा आसपासका मतदातासमेत राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न ललितपुरको पाटन आउँदै छन् ।

ललितपुरमा रहेको प्रदेश ३ को निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले हेटौंडा आसपासका मतदाता ललितपुरको जिल्ला समन्वय समितिस्थित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनमा मतदान गर्नका लागि आउने बताए । प्रदेश ३ मा २३८ जना स्थानीय तहका र ११० जना प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

यस्तै, प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढी तोकिएको छ । तर, सो प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीको दीपायलमा तोकिएको छ ।

प्रदेश ७ मा स्थानीय तहका १७६ जना र ५३ जना प्रदेश सांसदले राष्ट्रिय सभा सदस्यलाई मतदान गर्दै छन् । प्रदेश ७ मा जम्मा मतदाता २२९ जना रहेको निर्वाचन कार्यालय दीपायलले जनाएको छ ।राजधानीमा समाचार छ ।