Banner News

सरकारका निर्णयप्रति एमालेको आपत्ती, आज ४ बजे पत्रकार सम्मेलन गर्दै



काठमाडौं, ११ माघ । जनादेश गुमाएको सरकारले नयाँ जनादेश प्राप्त सरकारले जस्तो दीर्घकालीन असर पार्ने निर्णय गर्न थालेपछि नेकपा एमालेले बिहीवार पत्रकार सम्मेलन गरि सरकारका पछिल्ला निर्णय र अन्य विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।

सरकारले बुधवार ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको थियो भने भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम तोक्ने, भुकम्पपिडितलाई थप १ लाख दिने, कर्मचारीको सरुवा, नियुक्ति एवं बढुवा, विभिन्न बहानामा सहयोग रकम वितरण जस्ता निर्णयहरु सरकारबाट भएका छन् ।

यस्तै सरकारले धमाधम राजनीतिक नियुक्ति पनि गरिरहेको छ । मन्त्रीहरुले मोटो रकम लिएर नियुक्ति, सरुवा बढुवा लगायतका काम गरेको भन्दै राज्यमन्त्रीहरु नै वताउन थालेका छन् । कमिशन लिएर अर्थतन्त्र नै असन्तुलित हुनेगरी सरकार अघि बढेपछि एमालेले त्यसको विरोध गर्दै आएको थियो ।

निर्वाचन गरेपछि स्वतःकाम चलाउ बनेको सरकारले धमाधम दीर्घकालीन निर्णय गरेकोले ती निर्णयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको एमालेले जनाएको छ। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने एमालेले जनाएको छ । बिहीवर दिउसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा एमालेले पत्रकार सम्मेलन आयोजना गरेको हो ।