Banner News

सात बटा प्रदेशमा मुख्यमन्त्रीको टुंगो कुन पार्टीबाट को –को बन्दैछन ?



काठमाडौ,२८ माघ । सात वटै प्रदेशको मुख्यमन्त्रीको टुंगो लागेको छ । चार वटा प्रदेशमा एमालेका नेता मुख्यमन्त्री बन्नेछन् भने दुई वटामा नेकपा माओवादी केन्द्रका नेता र एउटा प्रदेशमा संघीय समाजवादी फोरमका नेता मुख्यमन्त्री बन्नेछन् । बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीको टुंगो लागेको हो ।

प्रदेश १ मा एमाले नेता शेरधन राई मुख्यमन्त्री बन्नेछन् भने प्रदेश २ मा फोरम नेता लालबाबु राउत मुख्यमन्त्री बन्नेछन् । राई एमाले प्रदेश संयोजक तथा केन्द्रीय सचिव भीम आचार्यलाई दुई मतले पराजित गरेर संसदीय दलको नेता बनेका हुन् भने राउत सर्वसम्मत दलको नेता बनेका हुन् ।

प्रदेश ३ मा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री बन्नेछन् । उनी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई १० मतले पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् ।
प्रदेश ४ एमालेका पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । प्रतिष्पर्धी किरण गुरुङको समर्थनमा उनी सर्वसम्मत दलको नेता चुनिएका हुन् ।

प्रदेश ५ मा एमालेका शंकर पोख्रेल सर्वसम्मत दलको नेता बनेर मुख्यमन्त्री बन्दैछन् ।

प्रदेश ६ माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र प्रदेश ७ मा पनि माओवादी केन्द्रकै त्रिलोचन भट्ट सर्वसम्मत दलको नेता चयन भएर मुख्यमन्त्री बन्दैछन् ।