Banner News

एमालेमा राष्ट्रपतिका लागि तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङ चर्को लबिङमा



काठमाण्डौ १३ फानुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमालेभित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।

आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ । राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरूले लबिङ गरिरहेका छन् । राष्ट्रपति पदका लागि एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख समेत रहेका एमाले नेता सुवास नेम्बाङ लबिङमा छन् । यस्तै, नेता माधवकुमार नेपाललाई समेत केही नेताले राष्ट्रपतिका लागि उम्मेदवार बन्न हौस्याएका छन् ।

एमाले उच्च स्रोतका अनुसार वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली रहेका छन् । तर, उनलाई पार्टीभित्रै ब्यालेन्स मिलाउन पनि भण्डारीबाहेकलाई नै राष्ट्रपति बनाउनुपर्ने दबाब छ । वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रपति पदका लागि माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेकी छन् ।

राष्ट्रपतिका लागि एमाले नेता नेम्वाङले आफूनिकटका नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले आफ्ना निकटका नेतासँग आफूलाई उपप्रधानसहित जिम्मेवार मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट आग्रह भएको भए पनि आफ्नो इच्छा मन्त्रीमा नभएको भन्दै राष्ट्रपतिमा नै रहेको बताएका छन् । अर्का नेता खनालले त सार्वजनिक कार्यक्रमहरूमा नै पार्टीले जिम्मा दिए आफू राष्ट्रपतिका लागि तयार रहेको दाबी गर्दै आएका छन् । उनले समेत राष्ट्रपतिका लागि आफूनिकटका नेतासँग छलफल थालिसकेका छन् ।

राष्ट्रपतिका लागि चर्चामै रहेका नेता नेम्वाङ भने राष्ट्रपतिबारे पार्टीभित्र छलफल नै नभएको बताउँछन् । ‘राष्ट्रपति को हुने, कसलाई बनाउने भन्ने अहिले छलफल नै भएको छैन, यसबारे वाम गठबन्धनमा आबद्ध दुई अध्यक्षहरू बसेर निर्णय गर्नुहोला,’ नेता नेम्वाङले राजधानीसँग भने ।

एमालेका अर्का एक नेता भन्छन्, ‘राष्ट्रपतिज्यूलाई दोहोरिने इच्छा त होला तर पार्टीभित्र ब्यालेन्स मिलाउन पनि नेतृत्वलाई दबाब छ, उहाँ दोहोरिने सम्भावना म देख्दिनँ,’ ती नेताले भने ।राजधानीमा समाचार छ ।