Banner News

मन्त्री पण्डितको लोकप्ीय कार्य : वातावरणमा खललपार्ने ११ व्यापारिक संस्थामाथि कार्बाहि



काठमाडौं १३ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्ड विपरित संचालन गरिएका पाँच तारे होटल र ठूला अस्पतालहरुमाथि कार्वाही सुरु गरेका छन् ।

मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन ‘इआईए’ नगरी संचालनमा आएका ११ वटा संघ, संस्थाहरुमाथि ५० हजार देखि १ लाखसम्म जरिवान गर्ने निर्णय गरेका हुन् ।

ऐन, नियमको उलंघन, मापदण्ड विपरित र त्यसले वातावरण बिगारेको पाइएपछि पहिलो चरणमा ११ वटा संघ, संस्थामाथि १ लाखसम्मको जरिवानसहित कार्वाही गर्न सुरु गरिएको मन्त्री पण्डितले जानकारी दिए ।

उनले गल्ती गर्ने संस्थाहरुलाई सुधार गर्ने मौका समेत दिइएको पनि स्पष्ट पारेका छन् ।

निर्णय अनुसार ईआइए नगरी सेवा संचालन गरेको भन्दै काठमाडौंका रविभवनमा संचालित पाँचतारे होटल सोल्टीलाई १ लाख जरिवान तिराउने निर्णय गरिएको छ ।

त्यसैगरी काठमाडौंकै वत्तिसपुतलीस्थित द्धारिकाज होटललाई पनि १ लाख जरिवान तिराउने निर्णय गरिएको छ । वातावरण विग्रन नदिने अभियानमा सरकार अघि बढेको पनि मन्त्री पण्डितले बताए ।

मन्त्री पण्डितले ठमेलस्थित काठमाडौं गेष्ठ हाउसलाई १ लाख जरिवान गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी तनहँुस्थित अरनिको आवुखैरेनी सिमेन्ट, मोरङस्थित कमला रोलिङ मिल्स, काठमाडौंको बालाजुस्थित काठमाडौं दुध वितरण आयोजनालाई ५० हजार जरिवान लिने निर्णय गरिएको छ ।
मन्त्री पण्डितले सरकारले सुरुवात मात्रै गरेको उल्लेख गर्दै वातावरण विग्रार्नेहरुमाथि कडा कार्वाही हुने चेतावनी पनि दिए ।
कलंकीस्थित नेपाल नेशनल हष्पिटल, महाराजगंजस्थित अन्तराष्ट्रिय मैत्रीवाल अस्पताल, भृकुटीमण्डपस्थित काठमाडौं मोडल अस्पताल, त्रिपुरेश्वरस्थित काठमाडौं अस्पताललाई पनि वातावरण संरक्षण ऐन अनुसार कडा कार्वाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिएको छ ।

मन्त्री पण्डितले काठमाडौंं र देशका मुख्य–मुख्य सहरहरुलाई सफा बनाई मानव मैत्री र प्रकृतिमैत्री बनाउन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यसअघि सामान्य प्रशासन मन्त्री बनेका पण्डित डिभी पिआरको बिरोधमा उत्रँदा निकै चर्चामा आएका थिए ।