Banner News

स्वैच्छिक अवकाश कार्यान्वयन गर्न माग



काठमाण्डौ १० चैत्र । आधिकारिक ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका नेताले स्वैच्छिक अवकाश व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा शुक्रबार एक आयोजित साक्षात्कारमा बोल्दै ट्रेड युनियन अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणीसमेत गरे ।

‘पछिल्लो समय उहाँले जुन रूपमा कर्मचारीमाथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो,’ ढकालले भने, ‘बरु, काम गर्ने वातावरण छैन ।’ केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर र अन्य समस्यामा परेर नगए पनि अधिकांश कर्मचारी खटाइएको स्थानमा गई काम थालिसकेको उनको दाबी छ ।

नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वैच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरे ।

‘कर्मचारीमाथिको धम्की स्वीकार्य छैन, जिम्मेवार व्यक्तिमा कस्तो भाषा बोल्ने र कर्मचारीलाई कसरी काममा लाउने भन्ने जानकारी हुनुपर्छ,’ उनले भने, ‘दानापानी बन्द गर्ने, मानसिक सन्तुलन गुमाएको भन्नेजस्ता शब्द मन्त्री पण्डितले फिर्ता लिनुपर्छ ।’ कर्मचारी समायोजन वैज्ञानिक र सम्मानजनक रूपमा हुनुपर्ने उनको जोड छ ।

‘हामीले कहिल्यै स्वैच्छिक अवकाशको माग गरेका छैनौं, सरकारले २० वर्षमाथि मुलुकको सेवामा समर्पित कर्मचारी र ५० वर्ष नाघेका कर्मचारीको हकमा लागू हुने गरी यस्तो व्यवस्था ऐनमा ल्याएको हो,’ उनले भने,

‘त्यो जस्ताको त्यस्तै लागू हुनुपर्छ ।’ यो नालापानीको युद्ध नभएकाले अंग्रेजले पानीको मुहान सुकाएजस्तो कर्मचारीको तलब रोक्ने भन्नु जायज नभएको कोइरालाको तर्क छ ।

त्यस्तै, नेपाल निजामती कर्मचारी युनियन संघ अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निराशा छाएको गुनासो पोखेका छन् ।

‘मन्त्रीजस्तो व्यक्तिले कर्मचारीको मनोबल गिर्ने गरी बोल्नु उचित होइन,’ उनले भने, ‘जननिर्वाचित प्रतिनिधि आउँछन्, जान्छन् तर निजामती कर्मचारी संयन्त्र स्थायी सरकार हो, जुन सरकार नभएको बेला पनि जनताको काम गर्छ, यो कुरा बुझ्नुपर्छ ।’

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी नपुगेको भनी लगाइएको आरोप निराधार भएको टिप्पणी गरे ।

मधेसी निजामती कर्मचारी मञ्च अध्यक्ष भूवनेश्वर चौधरीले समृद्ध नेपाल निमार्णमा कर्मचारीको ठूलो भूमिका रहने बताउँदै सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरे ।राजधानीमा समाचार छ ।