Banner News

मेलम्चीको सुरुङ छिचोलियो, दसैंदेखि दैनिक १७ करोड लिटर पानी



काठमाण्डौ २८ चैत्र । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएको मेलम्ची–सुन्दरीजल सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । मंगलबार ‘ब्रेक थ्रु’ भए पनि यसको औपचारिक घोषणा बिहीबार हुने भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको घोषणा गरिन लागिएको हो ।

सुरुङ मार्ग छिचोल्नका लागि बाँकी रहेको ग्याल्थुम सिन्धु ९ किलोमिटर सुरुङ मार्गमध्ये ३ दशमलव ९ मिटर खन्ने काम मंगलबार पूरा भएसँगै सिंगो सुरुङ ‘ब्रेक थ्रु’को अवस्थामा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार सो आयोजनाअन्तर्गत अब सुन्दरीजलबाट मेलम्ची ‘हेडवर्क्स’सम्म सुरुङभित्रैभित्रै पुग्न सकिनेछ । यसअघि सो सुरुङ मार्गलाई विभिन्न खण्डमा विभाजन गरी प्रत्येक खण्डको अलगअलग रूपमा ‘ब्रेक थ्रु’ गरिएको थियो ।

मेलम्ची आनेपानी आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको र यो कार्य ऐतिहासिक उपलब्धि भएको जनाएको छ । आगामी २०७५ सालको दसैंअघि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकाभित्र ल्याउनेगरी काम गरेको समेत आयोजनाले जनाएको छ ।

आयोजनाले ‘हेडवर्क्स’को मुख्य संरचना ‘भेन्ट साफ्ट’ तथा सुरुङको फाइनल ‘फिनिसिङ’को काम भने अझै बाँकी नै रहेको जनाएको छ । सो आयोजनाका अनुसार हालसम्म मेलम्ची आयोजनामा २४ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ ।

सुरुङ निर्माण कार्य समयमा नै सक्नका लागि सरकारले सुरुङ मार्गलाई तीनवटा खण्डमा विभाजन गरेर काम अघि बढाएको थियो । त्यसमध्ये सबैभन्दा लामो सुन्दरीजल–सिन्धुखण्ड ९ दशमलव ४ किमि गत वर्ष ‘ब्रेक थ्रु’ भएको थियो । त्यस्तै, दोस्रो लामो ग्याल्थुम–अम्बाथान खण्ड ८ दशमलव २ किमि गत पुसमा पूरा भएको थियो । बाँकी तेस्रो तथा अन्तिम खण्डका रूपमा ग्याल्थुम–सिन्धु ९ किमि सुरुङ मार्गमध्ये ३ दशमलव ९ मिटर खनेर ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाका अनुसार सुरुङ मार्ग खन्ने काम सकिएको भए पनि सबै काम सकेर राजधानीमा पानी आउन भने आगामी दसैंसम्म कुर्नुपर्नेछ । दसैंअगावै काम सक्नेगरी तयारी भइरहेको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदी मुहानबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर लामो सुरुङ निर्माण गरी १७ करोड लिटर पानी उपत्यका ल्याउने आयोजनाको लक्ष्य छ । मेलम्चीको पानी सुन्दरीजल हुँदै काठमाडौंमा वितरण भएसँगै आयोजनाले दोस्रो चरणको कामसमेत सुरु गर्नेगरी आवश्यक तयारीसमेत थालेको जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७ करोड लिटर गरी थप ३४ करोड लिटर खानेपानी थप गर्ने कामका लागि परामर्शदाता परिचालन भइसकेको बताइएको छ ।

परामर्शदाताले एक वर्षभित्रमा आयोजनाको विस्तृत डिजाइन प्रतिवदेन पेस गर्ने जनाएको छ । हालसम्मको तयारीअनुसार दोस्रो चरणको परियोजनाको आगामी आर्थिक वर्षबाट निर्माण कार्य सुरु गर्ने आयोजनाले जनाएको छ ।

आयोजनाको दोस्रो चरणका रूपमा याङ्ग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी ल्याउन आवश्यक पहुँच मार्गको १० किलोमिटर ट्र्याक खोल्ने कामसमेत सम्पन्न भइसकेको छ । दोस्रो चरणका लागि मेलम्ची मुहानमाथि डाइभर्सन गर्न करिब ११ किलोमिटर लामो सुरुङ निर्माण गर्ने लक्ष्य राखिएको छ ।राजधानी बाट ।