Banner News

स्थानीय तहलाई चार प्रकारका बजेट, समानीकरण र ससर्त बजेट सीमा तोकियो



काठमाण्डौ २९ चैत्र । सरकारले आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय तहले प्राप्त गर्ने अनुदान बजेटको सीमा सिलिङ तोकेको छ । सरकारले आगामी आर्थिक वर्ष देशभरका स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदान र ससर्त अनुदान बजेटको सिलिङ तोकेको हो ।

स्थानीय तहले प्राप्त गर्ने अनुदान बजेटको सीमा तोकिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई तोकिएको बजेट सीमाभित्र रहेर खर्च गर्ने व्यवस्था गर्न पत्र पठाएको छ ।

स्थानीय निकायबाट स्थानीय तह बनेपछि स्थानीय तहले केन्द्रीय सरकारबाट चार प्रकारका अनुदान पाउने कानुनी व्यवस्था छ । जसमा वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र ससर्त अनुदान छन् ।

हाल सरकारले वित्तीय समानीकरण अनुदान र ससर्त अनुदानको सिलिङ तोकेको हो । स्थानीय निकाय रहेका बेला स्थानीय निकायलाई सरकारले ससर्त र निःसर्त अनुदान दिने व्यवस्था थियो । तर, हाल विगतमा जस्तो निःसर्त अनुदानको व्यवस्था गरिएको छैन ।

निःसर्त अनुदान स्थानीय निकायले प्रशासनिक कार्यसञ्चालन तथा कर्मचारीको तलबभत्तामा खर्च गर्थे । हाल निःसर्त अनुदानको सट्टा समानीकरण अनुदान दिने कानुनी प्रावधान भएअनुसार ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने समानीकरण अनुदानको सिलिङ तोकिएको हो ।

मन्त्रालयका लेखा अधिकृत वसन्तराज पौडेलका अनुसार स्थानीय तहले समानीकरण अनुदानअनुरूप एकमुष्ठ प्राप्त गर्ने बजेटबाट प्रशासनिक कार्यसञ्चालन तथा तलब भत्तामा खर्च गर्न सक्नेछन् ।

यसैगरी, स्थानीय तहले निश्चित योजना र विकासका लागि समपुरक अनुदान पाउने व्यवस्था छ । यसका लागि स्थानीय तहले अपुग बजेट उपलब्ध गराइदिन केन्द्रीय सरकारसँग निवेदन दिन्छन् । सोहीअनुसार सरकारले समपुरक अनुदान दिने मन्त्रालयका लेखा अधिकृत पौडेल बताउँछन्
स्थानीय तहलाई विशेष कार्यक्रमका लागि विशेष अनुदान दिइन्छ । उदाहरणका लागि कर्णाली क्षेत्रको विकास वा दलितका लागि विशेष कार्यक्रमअनुरूप विशेष अनुदान स्थानीय तहलाई दिन सकिने कानुनी व्यवस्था छ ।

ससर्त अनुदान भने खर्च गर्नुपर्ने क्षेत्र तोकेर दिइने व्यवस्था छ । हाल सरकारले वित्तीय समानीकरण र ससर्त अनुदान बजेटको सीमा तोकेको हो । ससर्त अनुदानअनुरूप सरकारले कृषि, पशुसेवा, शिक्षा र स्वास्थ्यका लागि अलगअलग बजेट सीमा छुट्याएको छ ।

स्थानीय तहमा बजेट अनुदान

तर, घना सहरी क्षेत्रका नगरपालिकाका कृषि र पशुसेवा क्षेत्रका लागि बजेट राखिएको छैन । काठमाडांैमा पर्ने काठमाडौं महानगरपालिकासहित ११ वटै नगरपालिमामा कृषि र पशुसेवाका लागि बजेट छुट्याइएको छैन । ललितपुरको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा पनि यो शीर्षकमा बजेट राखिएको छैन ।

गोदावरी नगरपालिमा पशुसेवा क्षेत्रमा जम्मा २ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । तर, कृषिमा बजेट राखिएको छैन । ललितपुरका अन्य नगरपालिकामा भने ससर्त अनुदानअन्तर्गत चारवटै क्षेत्रमा बजेट छुट्याइएको छ ।

भक्तपुरका चारवटा नगरपालिकामा पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्रै ससर्त अनुदान छुट्याइएको छ । जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा प्रायः कृषि र पशुसेवामा ससर्त अनुदान राखिएको छैन ।तर, वित्तीय समानीकरण अनुदान भने सबै स्थानीय तहलाई तोकिएको छ । आगामी आवमा ससर्त अनुदानअनुरूप स्थानीय तहलाई कुल २ खर्ब ३४ अर्ब ५५ करोड ६३ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ ।राजधानी बाट ।