Banner News

भारतिय रेल सीमासम्म होइन, पूर्व–पश्चिम र पाहाडी रेलमार्ग हामा्े आवश्यकता हो : एमाले नेता रावल



काठमाडौँ, ३० चैत्र । एमाले उपाध्यक्ष भीम रावलले भारतबाट नेपालको सीमाना क्षेत्रमा मात्र रेलमार्ग ल्याउने कुरा मान्य नहुने बताउनुभएको छ । उहाँले सीमासम्म रेल पहिले नै आइसकेको भन्दै अव रेलमार्ग पहाडसम्म बिस्तार गर्नुपर्ने बताउनुभएको हो । नेपालको आवश्यकता पूर्व–पश्चिम रेलमार्ग भएको पनि बताउनुभयो ।

‘नेपालको सिमाना क्षेत्रमा भारतसँग पहिल्यै नै यातायात जोडिएको छ । अहिले पनि ती सिमानासम्म भारतले रेगमार्ग विस्तार गर्न आवश्यकता छैन’ रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,‘ हामीलाई पूर्व–पश्चिम रेलमार्ग चलाउन आवश्यक छ ।’

पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका रावलले भारतले विराटनगरमा स्थापना गरेको अस्थायी फिल्ड अफिस तत्काल हटाउनुपर्ने बताउनु भयो । उहाँले सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले एमाले र माओवादीबीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापनमात्र बाँकी रहेको बताउनुभयो ।

पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै नेतृत्वको विषयमा छलफल हुन बाँकी रहेको स्पष्ट पार्नुभयो । उहाँले नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकोले नै बैठक लम्बिएको हुनसक्ने जानकारी दिनुभयो । उपाध्यक्ष रावलले वैशाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भइनसकेको बताउनुभयो ।

दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने उहाँको भनाइ छ । उहाँले सत्ता पक्ष र प्रतिपक्ष मुलुकलाई समृद्धि तर्फ लैजानका लागि एक साथ हिँड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।