Banner News

व्यापार घाटा कम गर्न पर्यटन उद्योग : वरिष्ठ नेता खनाल



विराटनगर २ बैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताएका छन् ।

विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए।

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।

पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश १ को माग अनुसार स्तरीय होटल सञ्चालनमा ल्याएका अर्का सचालक रुपमणि राजभण्डारीले बताए ।

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताए ।नेपालपाटी बाट ।