Banner News

प्रधानमन्त्री भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आज चीन जाँदै,



काठमाडौ, ३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज सोमबार चीन जाँदैछन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीको यहि महिनाभित्र चीन भ्रमण हुन सक्छ, त्यसैको तयारीका लागि मन्त्री चीन जाँदै हुनुहुन्छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

उनले परराष्ट्रमन्त्रीको भ्रमणपछि प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय हुने जनाएका छन् । ‘दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताबारे मन्त्री ज्यूले बेइजिङमा छलफल गर्नुहुन्छ’, ती अधिकारीले भने ।
दुई वर्षअघि प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच १० बुंदे सम्झौता भएको थियो । नेपाल–चीनबीच पहिलो पटक भएको पारवहन सम्झौतालाई निकै महत्व साथ हेरिएको थियो । भारतसँग मात्र निर्भर हुँदै आएको नेपाललाई चिनियाँ बन्दरगाहसम्म पहुँच दिने यो सम्झौतालाई ऐतिहासिक भनिएको थियो ।

यस्तै, चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई मा नेपालले हस्ताक्षर गरे पनि कार्यान्वयनमा खासै चासो नदिएको चिनियाँ पक्षको गुनासो छ । चिनियाँ विदेशमन्त्री वाङ हीको निमन्त्रणामा ६ दिने औपचारिक भ्रमणमा जान लागेका मन्त्री ज्ञवालीले बेइजिङमा चीनका नेतासँग समेत भेट्नेछन् भने मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङबीच बुधबार द्विपक्षीय छलफल हुनेछ ।