Banner News

परराष्ट्रमन्त्री ज्ञवालीले को चिनियाँ उपराष्ट्रपति र विदेशमन्त्रीसँग आज भेट हुने



काठमाडौं, ५ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज बुधवार समकक्षी वाङ वीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । सोमवार बेइजिङ प्रस्थान गरेका ज्ञवालीले आज उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । पाँचदिने चीन भ्रमणमा रहेका ज्ञवाली र चिनियाँ समकक्षबीच विगतमा भएका सहमति र समझदारी अघि बढाउने वारेमा छलफल हुने भएको छ ।

उपराष्ट्रपति वाङसँग भेटवार्ता गर्न मन्त्री ज्ञवाली बुधबार बिहान आफू बसेको दियोथाई स्टेट गेष्ट हाउसबाट सरकारी निवास चोङनानहाई जाने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । त्यसलगत्तै मन्त्री ज्ञवालीले स्टेट गेष्ट हाउसमा समकक्षी वाङ वीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

मंगलबार साँझ चिनियाँ दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका छानिएका भाषणहरुको संगालोको चिनियाँ अनुवादसहितको पुस्तकको विमोचन गर्नुभयो । पहिलो प्रधानमन्त्रीत्व कालमा उहाँले दिनुभएका मन्तब्यहरुलाई चिनियाँ भाषामा अनुवाद गरिएको पुस्तक मंगलवार सार्वजनिक भएको हो ।

ज्ञवालीको बेइजिङ भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । ज्ञवालीको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ।

बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।