Banner News

स्ववियु निर्वाचन फागुन १४ मा जसरी पनि हुन्छ



रश्मिी आचार्य–उपाध्यक्ष अनेरास्ववियु

 चुनाव हुन्छ त, फाल्गुन १४ मा ? चुनावको वातावरण त बनिराखेको देखिदैन नी ?

हुन्छ, किन नहुनु ? विगत ८ बर्ष देखि हुन नसकिरहेको स्ववियु निर्वाचन अब फागुन १४ मा जसरी पनि हुन्छ ,तपाई ढुक्क हुनुहोस् । चुनाब सम्पन्न गर्नुको अब कुनै विकल्प छैन । बलिदानी पूर्ण संघर्षबाट स्थापित विद्यार्थीहरुको साझा स्वतन्त्र एवं बैधानिक मञ्च स्ववियुलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो । त्यसैले यसको जगेर्ना र नयाँ शिराबाट स्ववियु हरुलाई अगाडि बढाउनको लागि यो चुनाव अपरिहार्य छ ।

 त्यसो भए चुनाबको तयारी कुनढगबाट अघि बढिरहेको छ त ?

तयारी तीव्र गतिमा अगाडी बढेको छ । हाम्रो घोषणा पत्र छापेर देशभर पढाइ सकेका छौ । अब उम्मेदवार छनौट र अन्य आन्तरिक तयारीमा जुटेका छौं ।
स्ववियुमा अनेरास्ववियुले बाजी मार्ने अधारहरु के ?

यसका आधारहरु थुप्रै छन । अनेरास्ववियुको गौरवपूर्ण विगत, बर्तमानमा हामीले अगाडि सारेका स्पष्ट दृष्टिकोण र हाम्रो सांगठनिक गतिशिलता नै मूख्य आधारहरु हुन् । यसका केस्रा, केस्रा केलाउदा विषयहरु अनगिन्ती छन् ।
 निर्वाचनलाई तपार्इहरुले कतिको महत्वका साथ लिनुभएको छ ? यसलाई मिनि जनमत संग्रहनै भन्छन् नी ?

सचेत विद्यार्थीहरुको अभिमत के को पक्षमा छ, उनीहरु राष्ट्रिय मुद्दाहरु प्रति कति चासो राख्दछन् ? उनीहरु आफ्ना मुद्दाहरु प्रति जानकार छन् वा छैनन, त्यसको समाधानको सच्चा सारथी कसलाई ठान्दछन् ?आदि सावालहरु प्रति विद्यार्थीहरुको अभिमत जाहेर गर्ने र विद्यार्थी आन्दोलनलाई अब कुन दिशा तर्फ लैजाने आदि कोणबाट यो निर्वाचन ज्यादै महत्वपूर्ण छ । यस निर्वाचनको प्रभाव नजिकिदै गरेका स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा समेत प्रत्यक्ष पर्न जाने हुँदा यसलाई सबैले निकै चासोका साथ हेरेका छन् , महत्व दिएका छन् ।
 यो निर्वाचनमा अनेरास्ववियुले किन जित्नु पर्छ ?

विद्यार्थी आन्दोलनको अपराजित शक्तिको रुपमा अनेरास्ववियु आजसम्म स्थापित छ । आम विद्यार्थीका मुद्दाहरु उठान गर्ने हिसावले पनि अनेरास्ववियु सबै भन्दा अगाडी छ । शिक्षा सम्बन्धि स्पष्ट दृष्टिकोणको खाका कोहि संग छ भने अनेरास्ववियु संग मात्र छ । भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा जनताको दुःखको साथी भन्ने पहिचान अनेरास्ववियुले स्थापित गरेको छ । विगतमा स्ववियुहरु परिचालन गर्दा स्वच्छ, मर्यादित र सृजनात्मक तवरले स्ववियु सञ्चालन गरेको विगत पनि अनेरास्ववियु संग नै छ । नियमित अधिवेशन गर्ने र नेतृत्वलाई समय सापेक्ष बनाउने काम पनि अनेरास्ववियुले गर्दै आएको छ । यसर्थ यस निर्वाचनमा हर हिसावले अनेरास्ववियुले जित्नेछ ।

 अनेरास्ववियु भावि योजना के के छ त ?

हामी यतिवेला हाम्रा सटिर्फिकोटको मूल्य स्थापित गर्ने चरणमा छौं । नेकपा एमालेका श्रद्देय अध्यक्ष केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको विद्यार्थी प्रमाण पत्रको आधारमा ऋण प्रदान गर्ने नीतिलाई कार्यान्वयनमा लगेर बेरोजगारीको अन्त्य र उद्दमशीलताको विकास गरि हाम्रो जनशक्तिलाई देशको समृद्धिको यात्रामा अभियान्ता बनाउन चाहेका छौं । सार्वजनिक शिक्षाको गुणस्तर बृद्धि गराएर दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो संकल्प छ । बृहत शैक्षिक सम्मेलनका निश्कर्षहरु कार्यान्वयन गराउन र समग्र शिक्षाको पुनर्संरचनाको खाका अगाडि सारेर शैक्षिक क्रान्ती ल्याउने हाम्रो योजना छ । विश्वविद्यालयहरुलाई प्राज्ञिक र मर्यादित बनाउने, क्यालेण्डरमा पूर्णरुपमा चल्ने बनाउने, शुल्क बृद्धि कै अनुपातमा विद्यार्थीका सुबिधा बृद्धि, स्वास्थ्य विमा लगायत हाम्रा एजेण्डा हुन् । अनेरास्ववियु विद्यार्थीका आजका ज्वलन्त एजेण्डा बोकेर अगाडि बढेको छ ।
 केही विद्यार्थी संगठनहरु त कुनै पनि हालतमा चुनाव हुन नदिनलाई आगजनी र तालाबन्दीमा उत्रिएका छन, होइन ?
अलिअलि त विरोध हुने नै भयो नी, तर त्यस्ता विरोध ले केही हुँदैन् । मैले पहिले नै भनिसके निर्वावचन जसरी पनि हुन्छ ।