(बैशाख ७, काठमाडौं) । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु आफ्नो स्थापना दिवसकै दिन विभाजित भई राष्ट्रिय जनता पार्टी (लोकतान्त्रीक) घोषणा गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको उनीहरुले जानकारी गराएका छन् ।
तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।
निर्वाचन आयोगको नियम अनुसार पार्टी गठन भएको १ वर्षभित्रै महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार आगामी एकदेखि डेढ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने उक्त पार्टीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्