शैक्षिक

पुँजी र उत्कृष्ट प्रविधि भित्र्याउन, परियोजना समयमै सम्पन्न गर्न अनुरोध : परराष्ट्रमन्त्री ज्ञावली



(बैशाख ८, काठमाडौं) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावली छिमेकि देश चिनको भ्रमणको क्रममा चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अत्य गरी सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिँदै उनले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको बताएका छन् ।

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कीएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ (बिआरआई) अन्तर्गत सहयोगका लागि नेपालले निर्धारण गरेका प्राथमिकताका ती पाँच क्षेत्रबारे विस्तृत रुपमा चिनियाँ पक्षलाई अवगत गराएको बताएका छन् ।

नेपाल र सिचुवान प्रान्तबीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बढ्दै गएको तथा सिचुवान प्रान्तको आर्थिक सामथ्र्यबाट नेपालले पर्याप्त लाभ लिनसक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त प्रान्तको राजधानी छन्दुमा नेपाल सरकारले वाणिज्यदूतावास स्थापना गर्न चाहेको बताउंदै त्यसमा सहयोग गर्न अनुरोध गरेको मन्त्री ज्ञवालीले बताएका छन् ।

चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न एउटा द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना केरुङ्बाट काठमाडौँ, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा व्यापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारेमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

आफ्ना चिनियाँ समकक्षीसँग भएका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सीमा नाकाको सञ्चालन तथा स्तरोन्नति, द्विपक्षीय रसुवागढी‒केरुङ र तातोपानी‒झाङमु नाकाहरुको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाका खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सञ्चालनका लागि आग्रह गरेको जानकारी दिए ।