Banner News

सार्कमा देखिएका असमझदारी हटाउन भारत र पाकिस्तानसँग आग्रह गरेको छु स् प्रधानमन्त्री ओली



काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मा देखिएको असमझदारी हटाउन भारत र पाकिस्तानका सरकार प्रमुखहरुसँग छलफल गरेको बताउनुभएको छ ।

सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कलाई प्रभावकारी क्षेत्रीय फोरमका विकास गर्दै अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको जानकारी दिनुभयो ।

‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको आइतबार विमोचन गर्दै उहाँले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भएको भारतको राजकीय भ्रमणमा प्रधानमन्त्री मोदीसँग सार्क प्रक्रियालाई अघि बढाउनेबारेमा छलफल गर्नुभएको थियो । त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपाल भ्रमणमा आएका बेला सार्कलाई अघि बढाउने वारेमा पहल गर्न गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्दै पहल लिने बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रहरुबीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तराष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालमै सार्कको सचिवालय भएकाले पनि यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक पहल गर्ने दायित्व नेपालमाथि रहेको पनि बताउनुभयो ।

संसदको परराष्ट्र, श्रम र मानवअधिकार समितिले सार्कको प्रभावकारीतावारे आयोजना गरेको क्षेत्रीय सम्मेलनमा प्रस्तुत कार्यपत्र र टिप्पणीलाई आधार बनाएर पुस्तक प्रकाशन गरिएको हो । उक्त कार्यक्रमको संयोजक एमाले बरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्थ्यो ।