(बैशाख १०, जनकपुर) । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ। छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ। प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिने निर्णय गरेको दाहालले बताए।
जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ। मधेश आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन ९वारह रविउल्ल औयल०को दिन पनि बिदा दिइने बताइएको छ।
प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करीब दुई साता बितिसक्दा पनि संघीय सरकार मातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन। कुनै पनि कानून वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको विभागमा प्रकाशित गर्नुपर्छ। प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौँ पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ। रासस










प्रतिक्रिया दिनुहोस्