Banner News

कोदालो बोकेर आउनुपरे पनि तयार छु : प्रधानमन्त्री



काठमाण्डौ १३ बैशाख । म बनाउँछु मेरो धरहरा अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् । तीन वर्षअघि गोरखा भूकम्पको सम्झनामा राजधानीमा आयोजित कार्यक्रममा यस्तो आह्वान गरेका हुन् ।

‘मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा,’ प्रधानमन्त्री ओलीले भने, ‘यो हरेक नेपालीको नारा हुनुपर्छ, मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं, हामी त्यो गरौं । मै बनाउँछु, मेरो धरहरा ।’ उनले धरहरा बनाउन आफूले कोदालो बोकेर आउनुपरे पनि तयार भएको बताए । उनले सबैले आफ्ना तर्फबाट गर्न सक्ने काम गरेर भए पनि धरहरा बनाउने अभियानमा सहभागिता जनाउन उनले सबैमा आह्वान गरेका हुन् । उनले धरहरा सकेसम्म छिटो निर्माण गर्ने गरी पुनर्निर्माणको अभियानमा जुट्न सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले धरहरासँगै पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए । ‘रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । वसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं,’ उनले भने, ‘अब पर्खिने समय छैन हामीसँग । हामीले देशलाई आर्थिक उन्नतिको दिशामा तीव्रताका साथ लाग्नु छ । भत्केका संरचनाहरूको पुनर्निर्माणको गीत मात्रै गाएर बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं रु समृद्धि कहिले गर्छौं रु त्यसकारण हामीसँग अलमलिने, पर्खिने समय छैन ।’ उनले आम नागरिकले आफ्ना तर्फबाट पनि पुनर्निर्माणको अभियानमा सँगै जुट्नु आवश्यक भएको बताए । अरूले आफ्नो सम्पदा पुनर्निर्माणका काम गरिदेला भनेर बस्ने भन्दा पनि आफैंले जागरुकता देखाउनुपर्नेमा उनले जोड दिए ।

गोरखा भूकम्पका कारण ८ हजार ९ सय ७९ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । भूकम्पबाट ७ सय ६ अर्बको अनुमानित क्षति भएको थियो । ७ लाख ६७ हजार ७ सय ५ जना घरविहीन भएका थिए । भूकम्पका कारण ७ हजार ५ सय ५३ शिक्षण संस्थान, १ हजार १ सय ९७ स्वास्थ्य संस्था र ३ सय ७९ सरकारी भवनमा क्षति पुगेको थियो । ७ सय ५३ महŒवपूर्ण पुरातात्विक सम्पदा, ३ सय ८३ सुरक्षा निकायका भवन क्षति भएको थियो । भूकम्पका कारण २ सय ८० बस्ती जोखिमा परे भने त्यसभित्रका ३ हजार ७ सय ९४ घर स्थानान्तरण गर्नुपर्ने भए । प्रधानमन्त्री ओलीले यस बीचमा ४१ हजार ६ सय २६ घर निर्माण भएको र ४ लाख ३६ हजार ३ सय ५० घर निर्माण भइरहेको बताए ।

उनका अनुसार ३ हजार ६ सय १३ सार्वजनिक विद्यालय निर्माण भएका छन् भने १ हजार ७ सय १९ विद्यालय निर्माण भइरहेका छन् । स्वास्थ्य संस्थाहरूमा १ हजार २ सय ६६ भवन निर्माण भएका छन् भने १ सय ८० भवन निर्माण भइरहेका छन् ।
भत्किएका २ सय २० सरकारी भवन निर्माण भइसकेका छन् भने १ सय ४७ भवन बन्दै गरेको उनले जानकारी दिए । उनका अनुसार पुरातात्विक सम्पदाहरूमा एक सय पूरा भएका भने ३ सय २९ वटा पुनर्निर्माण भइरहेका छन् । सुरक्षा निकायका ७९ भवनहरू निर्माण भएका छन् भने १ सय २६ भवन निर्माण भइरहेका छन् । ३ सय ८८ वटा घरपरिवारलाई असुरक्षित स्थानबाट सुरक्षित स्थानमा सारिएको छ ।
‘एकातिर हामीसँग दक्ष जनशक्ति छैन । केही केही कानुनी जटिलता छ । केहीकेही बैंकिङ प्रक्रियाका जटिलताहरू छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही केही हामीसँग काम गर्ने म्यान पावर छैन । मलेसिया र खाडीमा युवाहरू गएका छन् । यहाँ गाउँमा काम गर्ने मान्छे छैन । यो खालको स्थिति पनि छ ।’ उनले यस्तो परिस्थितिमा सकेसम्म अनुकूल स्थितिको सिर्जना गर्ने र पुनर्निर्माणलाई तीव्रता दिने सरकार सक्रिय रहेको जानकारी दिए । उनले पुनर्निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक भएको पनि बताए ।
‘म सबैमा आग्रह गर्न चाहन्छु, पुनर्निर्माणको कामलाई बिनाविलम्ब सिंगै राष्ट्र एकजुट भएर आआफ्ना ठाउँबाट सक्दो योगदान गरौं,’ प्रधानमन्त्री ओलीको आह्वान छ, ‘हरेकले पुनर्निर्माणलाई तीव्रता दिऔं । हाम्रा सम्पदा नमासिने गरी, हाम्रो इतिहास झल्किने गरी यस्तै देखिने गरी बलियो संरचना बनाऔं ।
अझ राम्रो बनाऔं ।’ उनले राम्रो बनाउने भनेको जस्ताको तस्तै मात्र नभएको बताउँदै भूकम्पले नै नढाल्ने, देख्दा उस्तै तर बलियो संरचना निर्माणका लागि सबैमा आह्वान गरेका छन् ।राजधानी बाट ।