समाचार

जलविद्युतको प्रगति विवरण बुझाउन १५ दिनको म्याद, उर्जामन्त्रीले दिए यस्तो चेतावनी



बैशाख १७, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन तथा निर्माण चरणका जलविद्युत आयोजनाको प्रगति निर्देशनअनुसार प्राधिकरण, यसका सहायक कम्पनी तथा निजी क्षेत्रले १५ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएका छन् ।

मन्त्री पुनले निर्माणमा देखिएको ढिलाईले ऊर्जा तथा जलविद्युत विकासको लक्ष्यमा असर परेकाले अनुगमन गर्न जरुरी रहेको बताउँदै आएका छन् । उनले निजी क्षेत्रमात्र नभई प्राधिकरण र यसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको समेत अनुगमन हुनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अब विद्युत उत्पादनसँगै अनुगमन तथा नियमनमा पनि कडाई गरिनेछ । प्रगति विवरण पेस नगर्ने प्रवद्र्धक वा विकासकर्ताले कुनै बाहनामा छुट नपाउने पनि मन्त्री पुनको भनाई छ ।

मन्त्री पुनले दिगो विद्युत विकास, प्रसारण तथा पहुँचमा ध्यान दिन पनि प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ– प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएका विभिन्न प्रवद्र्धकलेमध्ये केहीले मात्र अद्यावधिक विवरण बुझाएकाले अनुगमनमा अप्ठ्यारो परिरहेको छ ।

देशमा ऊर्जाको संकट रहेकोमा कतिपय पिपिए भएका आयोजनाको निर्माण लामो समयसम्म सुरु नभएको प्राधिकरणले उल्लेख गरेको छ । योसँगै निर्माणाधीन आयोजनाको प्रगति सन्तोषजनक नरहेकाले यसले ऊर्जा व्यवस्थापनमा समेत अन्योल सिर्जना भएको छ ।