बैशाख १७, धनगडी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ डोर्याए नेपाली काग्रेस सडक तथा सदन दुवैमा आन्दोलन चर्काउने बताएका छन् ।
धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने, “लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर अधिनायकवाद लाद्न खोजिए काँग्रेस सडकमा ओर्लन बाध्य हुनेछ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाए । उनले भने–“विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ।”
चुनावमा पार्टी पराजयका बारेमा सोधिएको एक प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे । पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उनले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गरे ।
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्न देउवा आज धनगढी आइपुगेका हुन् । –रासस










प्रतिक्रिया दिनुहोस्