Banner News

प्रधानमन्त्री ओलीद्वारा चार सडक र विरिङ पुलको शिलान्यास



बैशाख १८, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुहार फरी विकसित मुलुक बनाउने उद्घोषका साथ आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गरेका छन् ।

ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत चारपाने–चैतुवारी–मतीगढा–साँघुटार–घोडामारी–राजगढ सडकको शिलान्यास भएको छ । चारपाने चोकबाट शुरु विन्दु भएर राजगढ बजारसम्मको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । सडकको लम्बाई १५ दशमलब ६ किलोमिटर रहेको छ । सो सडकले हुलाकी राजमार्ग छोएको छ । सडक निर्माणका लागि एशियाली विकास बैंकको ८० प्रतिशत लगानी र नेपाल सरकारको २० प्रतिशत लगानी गरी रु १८ करोड ५७ लाख ९० हजार ४५६ मा निर्माण हुँदैछ ।

यसैगरी खर्साङवारी–जलथल–अधिकारी चोक सडक खण्डको शिलान्यास भएको छ । सो सडकको लम्बाई ६ दशमलब ५ किलोमिटर रहेको छ ।

यता आमलडाँगी–समयगढ–सोलमारी सडक ११ दशमलब ५ किलोमिटर र पाडाजुंगी–झर्का–चप्रामारी–खजुरगाछी १० किलोमिटर गरी जम्मा ४३ दशमलब ५ किलोमिटर सडकखण्डलाई कालोपत्रेस्तरमा स्तरोन्नति गरिने भएको छ ।

पाडाजुंगी–झर्का–बालुवथान–चप्रपामारी–खजुरगाछी सडक आयोजनाको लागत २० करोड ७३ लाख ८३ हजार ९१० रहेको बताइएको छ । यो आयोजना समेत २०८० साल वैशाखमा सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको छ ।

रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका हुन ।

विसं २०८० वैशाखसम्ममा काम सक्ने गरी सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । कालोपत्रेस्तरमा सडकको स्तरोन्नति तथा कार्य सम्पादनमा आधारित मर्मत गर्ने आयोजनाको मुख्य काम रहने बताइएको छ ।

यता कनकाई नगरपालिकाको लक्ष्मीपुर–साधुटार सडकखण्डको उद्घाटन गरिएको छ । रु नौ करोड ८० लाख ६५ हजार ६४९ को लागतमा निर्माण गरिएको सडकले चुरे राजमार्ग छुने बताइएको छ ।

योसँगै प्रधानमन्त्री ओलीले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरीङ खोलामा पक्की पुलको पनि शिलान्यास गरेका छन् ।

अस्पताल, शिक्षालय, बजार, मनोरञ्जन स्थललगायत एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने अबको योजना भएकाले निर्वाचित जनप्रतिनिधिलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।