राजनीति

माओवादीको सचिवालय बैठकमा एकताबारे प्रचण्डले के भने ?



बैशाख १९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रविच समान हैसियतमा पार्टी एकता गर्नको लागि एमाले र माओवादीमा समझदारी भइसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताएका हुन् ।

राजनीतिक हिसाबले एकता प्रक्रिया टुंगिए पनि विधान र संगठनबारे केही छलफल बाँकी रहेको माओवादी प्रवक्ता पम्फा भुसालले बताएकि छिन् । बैठकमा एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।

दुवै पार्टीले एकतालाई मुर्त रुप दिनको लागि आ आफ्नो सचिवालय तथा स्थायी कमिटीको वैठक बसेका छन् । यस्तै भोली दुई अध्यक्षको छलफल हुने समेत भएको छ ।