राजनीति

एकताका लागि दुई अध्यक्षबीच वान टु वान छलफल



बैशाख २०, काठमाडौं । पार्टी एकताको बिषय टुंगोमा पुर्‍याउन वाम गठबन्धन अन्तर्गत एमाले र माओवादी केन्द्रका अध्यक्षबीच आज छलफल हुँदैछ ।

एकता प्रक्रियाका क्रममा देखिएका सम्पूर्ण विवाद समाधान गर्दै एकताको मिति तय गर्ने बिषयमा आजको बैठक केन्द्रित हुने नेताहरुले दाबी गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरपछि बस्ने २ अध्यक्षबीचको वान टु वान छलफलले एकता प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्‍याउने माओबादी केन्द्रकी प्रबक्ता पम्फा भुषालले जानकारी दिएकि छिन् । वान टु वान वार्ताको तयारीस्वरुप माओबादी केन्द्रले हिजो केन्द्रीय सचिवालयको बैठक राखी छलफल गरेको थियो । चुनाव चिन्ह, जनयुद्ध शब्द लगायत विषयमा सहमति जुटेपनि एकीकृत पार्टीमा समान हैसियत, पोलिटब्युरो, स्थायी र केन्द्रीय कमिटीमा रहने सदस्य संख्या लगायत विषयमा २ दलबीच असमझदारी रहेको छ । यद्यपि दुवै दलले पार्टी एकीकरणलाई निष्कर्षमा पुर्‍याउन स–साना विषयमा मध्यमार्गी उपाय अबलम्बन गर्ने जनाउ दिइसकेका छन् ।

दुई अध्यक्षबीचको वान टु वान वार्तापछि सम्भव भए आजै एकता संयोजन समितिको बैठक बसी एकताको मिति घोषणा गर्ने तयारी समेत गरिएको छ । दुबै दलले विवादित विषयमा सहमतिका लागि लचकता र वैकल्पिक बाटोबारे आन्तरिक छलफल समेत गरेकाले आजको बार्ताबाट ठोस नतिजा बाहिर आउने अपेक्षा गरिएको छ ।