बैशाख २०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध तथा गैर कानुनी कार्यहरुको अन्त्य जरैदेखि हुने गरी कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने, ‘लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।’ उनले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाजनै भताभुंगको अवस्थामा जान लागेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न जरुरी रहेको औँल्याए । उनले भने, ‘ अहिले सुन तस्करको जालोसम्म पुगेर कारवाही अघि बढाएजस्तै अब लागुऔषध तस्करीको जालोमा पुगेर तिनीहरुलाई कारवाहीको दायरमा ल्याउनुहोस् ।’
गृहमन्त्री थापाले लागुऔषधका भरिया मात्रै होइन यसको अन्तर्राष्ट्रिय कारोबारी, स्थानिय एजेण्डलाई समेत पक्राउ गर्नेगरी काम अघि बढाउन निर्देशन दिए ।
छलफलमा गृह सचिव प्रेम कुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठुले राई लगायतको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्