समाचार

पर्सामा स्थानीयवासीले गरे प्रहरी कार्यालयमा हमला : ५ प्रहरी घाइते



बैशाख २४, पर्सा । जिल्लाको जिराभवानी गाउँपालिका–२ सेढवामा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबीच झडपका क्रममा ५ जना प्रहरी घाइत भएका छन् ।

अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै पुगेका स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सेढवामा राखेर पोखरिया लैजाने तयारी गर्दै गर्दा राति १० बजेतिर महिलाहरुको समूह आएर प्रदर्शन गरेको र त्यसपछि मध्यरातमा उछृङखल पुरुषहरुको समूह आएर प्रहरीमाथि ढुंगामुढा तथा आगजनी गरेको प्रहरी भनाइ छ । स्थानीयले प्रहरीले प्रयोग गर्दै आएको दुईवटा मोटरसाईकलमा आगजनी गर्नुको साथै प्रहरी कार्यालय परिसरभित्र रहेको टहराहरु समेत भत्काइदिएका छन् ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर नै गर्नुपरेको थियो । प्रहरीले स्थानीय बासिन्दाहरुसँग मिसिएर भारतीय नागरिकहरु समेत आक्रमणमा आएको दाबी गरेको छ । यसैबीच, प्रहरीले स्थानीयलाई तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरीलाई पक्रेको छ । छिमेकी शुभनारायण पटेलको घरमा लुकेर बसको अवस्थामा आज बिहान चौधरीलाई पक्राउ गरेको हो ।