विश्व

महाथिर पुनः मलेसियाका प्रधानमन्त्री बन्दै



काठमाडौं, २७ वैशाख । मलेसियाले विश्वकै सबैभन्दा बृद्ध प्रधानमन्त्री पाएको छ ।
आधुनिक मलेसियाका संस्थापक र सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका महाथिर मोहमद पुनः प्रधानमन्त्री बन्न लागेका हुन् । उनी ९२ बर्षका छन् ।

आफूले नेतृत्व गरेको पार्टी र आफैंले नेता बनाएकालाई पराजित गर्दै महाथिर सत्ताको नेतृत्वमा फर्केका हुन् । उनले मलेसियामा पुनः विधिको शासन पुर्नस्थापित गरिने बताए । महाथिर सन १९८१ देखि २००३ सम्म मलेसियाका प्रधानमन्त्री थिए । उनले मलेसियालाई आर्थिक रुपमा सम्पन्न बनाएका थिए ।

सन् २००३ मा अवकाश लिएपछि पनि उनको मलेसियाली सत्तामा पकड थियो । उनकै चेला रहेका नाजिब रजाक सन् २००९ मा मलेसियाका प्रधानमन्त्री बनेका थिए ।

नाजिबका क्रियाकलापले मलेसियाली सत्तारुढ पार्टीलाई अलोकप्रिय बनाउँदै लगेपछि उनलाई सत्ताबाट हट्न भनिएको थियो तर हटेनन् । नाजिबलाई प्रधानमन्त्रीबाट हटाउन नसकेपछि अर्को पार्टी भीत्र रहेका महाथिरका समर्थकहरु बाहिर निस्केर चुनावी मोर्चामा होमिएका थिए ।

प्रधानमन्त्री नाजिव रजाकले वान मलेसिया डेभलपमेन्ट बर्हाद नामक परियोजनामा ७ सय मिलियन डलर भ्रष्टाचार गरेको अभियोग लागेको छ । चक्पथ बाट ।