Banner News

मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानकारी गराउँदै : प्रधानमन्त्री ओली



काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण कुनै शर्त बेगर सार्वभौम प्रधानमन्त्रीका हैसियतमा भएको बताउनुभएको छ ।

उहाँले मोदीको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्रीले उल्लेख गरेको भाषा र सारबस्तुप्रति भने असन्तुष्टी जनाउँदै उक्त धारणा नेपाल सरकारको आधिकारिक धारणा नभएको पनि बताउनुभयो ।

मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानकारी गराउँदै उहाँले नेपालको परराष्ट्र सम्वन्ध संघीय सरकारले संचालन गर्ने र त्यसका लागि परराष्ट्र मन्त्रालय रहेको भन्दै त्यसमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो ।

‘राजनीतिक मर्यादाको ज्ञानको कमी भएको कारणले त्यस्तो भएको हो । यो नेपाल सरकारको आधिकारिक धारणा होइन । परराष्ट्र नीति संघीय सरकारले, परराष्ट्र मन्त्रालयले सञ्चालन गर्ने हो’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले भ्रमण उपलब्धीपूर्ण रहेको र नेपालको पक्षमा भएको बताउनुभयो । ‘तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल भारत सम्वन्ध नयाँ स्तरमा प्रवेश गरेको छ । बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको छ । सम्वन्धलाई नयाँ उचाईमा पूर्याउने काम भएको छ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोदी र आफूबीच एक अर्का देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति भएको उल्लेख गर्दै द्धिपक्षीय समस्या पारस्परिक परामर्श र हितका आधारमा समाधान गर्ने सहमति भएको बताउनुभयो ।

‘मलाई खुसी लागेको छ, यसपटक प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न, हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको छ’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताप्रति देखाएको सजगताका लागि जनतालाई धन्यवाद दिंदै लगातारको खवरदारी राम्रो भएको बताउनुभयो । नाकाबन्दीको स्मरण गर्दै ओलीले भन्नुभयो ‘हामीले लगातार भन्दै आयौं, सम्बन्ध दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा हुन्छ, हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा सम्वन्ध र व्यवहार गर्छौं ।’

दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा सी जिनपिङ र मोदी वार्ता उल्लेख गर्दै प्रधानमन्त्रीले बिग्रिएका सम्बन्ध हटाउने कोसिस गर्नुपर्ने बताउनुभयो । ‘हस्तक्षेप शिरोधार्य गर्ने होइन, अहस्तक्षेप, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाएर लैजान सकिने वातावरण निर्माण भएको छ’ उहाँले भन्नुभयो ।

नेपाल आएर मित्रता अभिबृद्धिमा योगदान गरेकोमा मोदीलाई धन्यवाद दिनुभयो । ‘उहाँले सिमानामा बाँध बाधेर डुवाउँछु भन्नु भएन, बाँध बाँधिएर डुवान भएकोमा खोल्छु भन्नु भएको छ । नबनिएको कुरा नबनाएरै छोड्नु भन्नु भएको छैन, बनाउने भन्नु भएको छ । म अपेक्षा गर्छु तिनको कार्यान्वयनमा हामी रुची साथ अघि बढौं र भारत त्यही रुचीका साथ अघि बढ्नेछ’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित र स्वाभिमानमा कुनै तलमाथि नभएको बताउनुभयो । ‘अध्ययन गर्नु भएहुन्छ, वक्तव्यहरु सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु । राष्ट्रहितलाई शिरोधार्य गरिएको छ, मनमा राखिएको छ, कहिल्यै पनि छोडिएको छैन’ उहाँले भन्नुभयो ।