काठमाडौं, ४ फागुन । नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम)ले निर्माण गरेका ‘ज्येष्ठ नागरिक ग्राम’को प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका छन् ।
राजधानी नजिकैको शङ्खरापुर नगरपालिका–४ स्थित लप्सेफेदीमा निर्माण गरिएका उक्त ग्राममा कोषको सहयोगमा १० वटा सुविधायुक्त भवन निर्माण भएका छन् ।
प्रधानसेनापति क्षेत्रीले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने परिकल्पनाका साथ अघि बढाएको कार्य सह्रानीय भएको बताए ।
सेवानिवृत्त, स्वतन्त्र र शान्तमय जीवनयापन गर्न चाहनेलाई प्राकृतिक स्वच्छ वतावरणमा निर्माण गरिएको सुविधा सम्पन्न यस आश्रमले ज्येष्ठ नागरिलाई पु¥याउने सेवा पुज्यनीय हुने विश्वास व्यक्त गर्दे उनले भने, ‘यस स्थानको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व समेत रहेको छ ।’
प्रधानसेनापति क्षेत्रीले ‘अहोरात्र राष्ट्रसेवकको रुपमा खटिई सेवानिवृत्त सैनिक व्यक्ति पनि हिताधिकारी बन्ने यो कल्याणकारी कोषअन्तर्गतको परियोजनामा भएको हुँदा यो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।’
प्राकृतिक स्वच्छ वातावरणमा निर्मित आश्रमले ज्येष्ठ नागरिकको मन जित्न सफल हुने बताउँदै उनले प्रतिष्ठानको पवित्र र सुन्दर समाजको परिकल्पनामा नेपाली सेनाले हातेमालो गर्दै कल्याणकारी कोषको माध्यमबाट आबद्ध हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा पूर्व सचिव माधव रेग्मीले समाज, राष्ट्र र दिनदुखीका लागि निःस्वार्थ काम गर्ने व्यक्ति समाजमा कमै हुने बताउँदै प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले गरेको काम सबैका लागि अनुकरणाीय रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष दाहालले कुनै पनि व्यक्तिमा रहेको गुणबाट समाज लाभान्वित नभएसम्म त्यस गुणको कुनै अर्थ नरहने बताउँदै मैत्री सेवाश्रमलाई देशकै नमुना मात्र नभई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र बनाइनेमा जोड दिए ।
प्रतिष्ठानले उक्त स्थानमा सेनाको सहयोगमा १०, सरकारको सहयोगमा सार्वजनिक निजी साझेदारीमा नौ र चन्दा सहयोग उठाएर ११ गरी जम्मा ३० वटा भवन निर्माण गरेको छ । सरकारको अनुदान सहयोगमा निर्मित साढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिकओ भवनको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे ।
नेपालमा पहिलोपटक सामाजिक, परोपकारी एवम् नवीनतम सोचअनुरुप ज्येष्ठ वा अवकाशप्राप्त नागरिकको स्वतन्त्र र शान्तमय जीवनयापनका लागि प्राकृतिमैत्री वासस्थल तथा प्रदूषणमुक्त आहारविहार, बुढ्यौली स्वास्थ्य उपचार र बौद्धिक दक्षता एवम् सम्पत्तिको सिर्जना गर्ने उद्देश्यले मैत्रीआश्रम निर्माण गरिएको हो ।
विसं २०६९ बाट निर्माण सुरु गरिएको मैत्री सेवाश्रम १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसको कुल लागत रु पाँच अर्ब लाग्ने र हालसम्म रु १८ करोड खर्च भएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
सबै भवन ज्येष्ठ नागरिक र अपाङ्गमैत्री छन् । जम्मा सङ्ख्याको २५ प्रतिशत असक्त असहाय ज्येष्ठ नागरिकलाई निःशुल्क तथा अवस्था र आर्थिक हैसियतका आधारमा निश्चित रकममा आश्रममा बस्न सकिनेछ । मैत्री सेवाश्रममा सुविधा सम्पन्न अस्पताल, पुस्तकालय, योगा ध्यान केन्द्र र पुस्तकालय निर्माण गरिनेछ ।
यसैबीच प्रतिष्ठानले मैत्री आश्रममै यही फागुन ३ देखि ११ गतेसम्म ‘माता पिता भक्ति भूमि पुजन ज्ञान महायज्ञ’ आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्