राजनीति

नेकपाको केन्द्रीय सदस्यहरुको सिफारिस अनुमोदन, केन्द्रीय कमिटीले पूर्णता पायाे



जेष्ठ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ।

सोमबार गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिनेछन्।

त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ। उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।