राजनीति

नीति तथा कार्यक्रम तीव्र विकास र परिवर्तनको आकांक्षाका : प्रम ओली



जेष्ठ १३, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्यमा केन्द्रीत भएर सरकारले नीति तथा कार्यक्रम ल्याएकाले कार्यक्रम केही महत्वकांक्षी हुनु स्वभाविक भएको बताएका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा छलफलका क्रममा संसदहरुले उठाएको प्रश्नको आइतबार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले ‘असम्भव महत्वकाक्षा बोकेको होइन, बोक्दैन । सम्भव हुने र सम्भव बनाउन सक्ने र सकिन गरि ल्याएको हो । यो सानो आकांक्षा होइन, राष्ट्रिय आकांक्षा र आवश्यकता हो । यो आकाक्षा पुरा गर्न हामी अघि बढ्नुपर्छ भनेर भनेको छ । उद्देश्य राखेको मात्रै होइन, उद्देश्य प्राप्तिको लक्ष्य पनि नीति तथा कार्यक्रमले राखेको छ ।’

प्रधानमन्त्री ओलीले देश र जनताका निम्ती सुरक्षा, सम्मान, विकास र यसबाट जनतामा सम्बृद्धि र सुख प्राप्त गर्न राजनीतिक क्षेत्रमा लोकतान्त्रिक प्रणाली अपनाउदै सरकार अघि बढेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘नयाँ उद्योग खोल्ने, व्यापार खोल्ने नीति सुशासन बिना अघि जान सकिँदैन । त्यसका लागि भ्रष्टचार नियन्त्रणमा कार्यक्रममा प्रश्ट भनिएको छ । विकासको पुर्वाधारका रुपमा आवश्यक बाटो निर्माण गरिन्छ, यो बास्तविकता र यर्थाथ हो ।’ कुनै नेपालीले खान, लाउन बस्न, उपचार गर्न पाइन भन्नु नपरोस्, भुगोल भाषा र आस्थाका हिसाबले म पछि परेँ भन्ने अवस्था नहोस्, न्याय समानताबाट बन्चित हुनुनपरोस्, अधिकार प्रयोग गर्न पाइनँ भन्ने अवस्था नहोस् भन्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको हो’ प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा भने ।