Banner News

जनताको मत जितेरै विश्वमा कम्युनिस्टहरुले शासन गर्न सक्ने सन्देश नेपालले दिएको छ : प्रम ओली



जेष्ठ १६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाबाट जनताको मत जितेरै विश्वमा कम्युनिस्टहरुले शासन गर्न सक्ने सन्देश नेपालले दिएको बताएका छन् ।

काठमाडौंमा बुधबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा समाजवादी नेताहरुको सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिस्ट पार्टीसँग शान्तिपूर्ण र सशस्त्र दुवै संघर्षको अनुभव रहेको बताउँदै मदन भण्डारीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले माक्र्सवादको नवीन प्रयोग गरेको र त्यसबाट सफलता मिलेको सुनाए । प्रधानमन्त्री ओलीले हरेक देशले आफ्नो सामाजिक बनोट र देशको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनको विकास गर्नुपर्ने बताए । उनले आफूहरु मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर समृद्ध नेपाल निर्माण गर्दै समाजवादतर्फ अघि बढ्ने बताए ।

ओलीले मार्क्सवाद संसारकै उत्कृष्ट दर्शन र कार्ल मार्क्स आधुनिक विश्वलाई सबैभन्दा प्रभाव पार्ने दार्शनिक भएको स्मरण गर्दै मार्क्सवादको प्रयोग र विकास हरेक देशले आफ्नो अनुकुलतामा गर्नुपर्ने बताए । ओलीले संसारमा मार्क्सवाद कहिल्यै पराजित नहुने बताए ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीलाई जनताबाट कसरी अनुमोदन गर्ने भन्ने सन्दर्भमा नेपालको फरक अभ्यास रहेको बताए । उनले नेपालको आफ्नो मौलिकता र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुका आधारमा नेपाल कम्युनिस्ट पार्टीले मुलुकको नेतृत्व गर्न सफल भएको बताए । प्रचण्डले शान्तिपूर्ण र सशस्त्र संघर्षको अनुभवबाट नेपाली कम्युनिस्ट आन्दोलन अघि बढेको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, भीयतनाम, लाओस, उत्तर कोरिया, दक्षिण अफ्रिका, भेनेजुयला, अष्ट्रेलिया, बंगलादेश, श्रीलंकालगायतका देशका कम्युनिस्ट पार्टीका नेताहरु सहभागी छन् ।